जनता मर्ने गरी फेरि बढ्यो पेट्रोलको मूल्य, कति पुग्यो मूल्य ?

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, भदौ ३, २०७५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले बजारमा महंगी नियन्त्रण गर्न नसक्दा जनता मारमा परिरहेका बेला सरकारको नियन्त्रणमा रहेको आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ ।

सरकारले जनताको अवस्थालाई ख्याल नै नगरी मूल्य बढाउँदा सर्वसाधारण मारमा पर्ने भएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आईतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

अब पेट्रोल १ सय ११, डिजेल र मट्टीटेल ९५ रुपैयाँ पर्नेछ । त्यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ चार रुपैयाँ पचास पैसा र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति ब्यारेल ५० डलर वृद्धि गरेको छ । निगमले खाना पकाउने ग्याँसको मूल्य भने यथावत् राखेको छ ।

निगमले १५–१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । निगमले इन्डियन आयल कर्पोरेसनले मूल्यवृद्धि गरेकाले मूल्य समायोजन गरेको बताएपनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दो क्रममा रहेको छ ।

कम्युनिस्ट सरकार मातहतको आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा नघटाउने र बढ्दा भने बढाउने नीति लिएर जनतालाई मारमा पारिरहेको छ ।