यी हुन् चर्तिकला देखाउने प्रधानमन्त्री, गफ सुनाउन ढुकुटीको २८ लाख रित्याए !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, भदौ २, २०७५

काठमाडौं – राज्यकोषमा रकम नभएको भनेर अर्थमन्त्री डा. युवराज खतिवडालाई विदेशमा सहयोग माग्न पढाउने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको चर्तिकला सुनेर जो कोही अचम्ममा पर्न सक्छन् ।

प्रधानमन्त्री ओलीले जतिबेला पनि राज्यकोषमा ढुकुटी नरहेको सुनाउँछन् । चुनावका बेला गरिएको प्रतिवद्धता अनुसार ज्येष्ठ नागरिकलाई बृद्धभत्ता बृद्धि नगरिनुको कारणमा पनि ओलीले त्यही बताएका थिए । तर, उनले आफ्नो व्यक्तिगत बिलासिता र मोजमस्तीमा कति खर्च गरिरहेका छन् भन्ने एउटा पछिल्लो उदाहरण देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न हेलिकोप्टर चढेर जनकपुर पुग्दा राज्यको लाखौं रकम ढुकुटीबाट रित्तिएको छ । हवाइ सुविधाकै हिसाबले पनि जनकपुरमा आधा दर्जन बढी हवाई कम्पनीले नियमित उडान भर्छन् ।

सर्वसाधारणलाई पनि हवाइ टिकट लिन गाह्रो छैन । सरकार प्रमुख प्रधानमन्त्री जस्तो मान्छेलाई इशाराको भरमै निवासमै टिकट आइपुग्छ । समस्या के छ भने जनकपुरमा सरकारी हवाइ अड्डा नेपाल बायु सेवा निगमको विमान सेवा छैन ।

निजी कम्पनीहरुले मात्रै काठमाडौं जनकपुर उडान भरिरहेका छन् । निजी विमानको भाडा महंगो छैन, उच्च ओहदाकाका लागि । सस्तोमा ३३ सयदेखि महंगोमा ४८ सय रुपैयाँसम्म पर्छ काठमाडौंबाट जनकपुर जान । महंगोकै हिसाब गर्दा पनि आते–जाते भाडा ९ हजार ६ सय रुपैयाँ ।

प्रदेश २ को सभालाई सम्बोधन गर्न जाँदा प्रधानमन्त्री एक्लै जाने कुरा भएन । पार्टीका अर्का अध्यक्ष पुुष्पकमल दाहाल पनि जानैपर्यो । २ जनाको आतेजाते हवाइ भाडा १९ हजार २ सय रुपैयाँ । दुुई चार जना सुरक्षा गार्ड र दुई चार जना आसे पासे सहितको जम्मा जम्मी टोली १० जनाको बनाउँदा पनि ९६ हजार रुपैयाँभन्दा बढी खर्च हुँदैन ।

प्रदेशसभाले प्रधानमन्त्री र उनको टोलीलाई खाना र पान समेत खुवाउने सार्वजनिक गरिसकेको छ । आजको केही घण्टा जनकपुर बस्दा उनको टोलीको सूको खर्च हुने छैन । तर, सरकार प्रमुखको सुरक्षाको सवाल छ । निजी विमानबाट आउने जाने कुरा सोच्न पनि भएन । सुरक्षा खतरा भईहाल्छ । हेलिकोप्टर नै चाटर्ड गर्दा पनि निजी कम्पनीतिर आँखा लगाउने चलन छैन सुरक्षाकै कारणले । त्यसैले रोजिन्छ नेपाली सेनाकै हेलिकोप्टर ।

नेपाली सेनासँग साना हेलिकोप्टर पनि छन् । व्यक्तिगत कामका लागि सेनाले हेलिकोप्टर उपलब्ध गराउँदा सर्वसाधारणसँग प्रतिघण्टा १ लाख २५ हजारको दरले लिने गर्छ । सानो हेलिकोप्टरले प्रधानमन्त्रीको टोलीलाई धान्न सक्दैन । त्यसैले ठूलै हेलिकोप्टर फन्दामा पर्छ ।

एमआई सेभेन्टिन हेलिकोप्टरको चार्ज सेनाले अरुसँग १ घण्टाको ४ लाख ६२ हजारको दरले लिनेगर्छ । तर सरकार प्रमुख र राष्ट्रप्रमुखले यो हेलि प्रयोग गर्दा भाडा तिर्ने चलनै छैन । आयोजकले नै सरकार प्रमुख र राष्ट्र प्रमुखलाई निम्ता गर्दा भने कहिले काहीँ दिने गरेका छन् । तर प्रधानमन्त्री, राष्ट्रपतिले यसरी भ्रमण गर्दा अहिलेसम्म सेनालाई हेलि भाडा दिने गरिएको छैन ।

प्रधानमन्त्रीको प्रदेशसभा सम्बोधनका क्रममा नेपाली सेनाको एम आई सेभेन्टिन हेलिकोप्टर विहान १० देखि दिउँको ४ बजेसम्म नै इन्जेग भएको छ । यदि अरु कसैले यो हेलि ६ घण्टाका लागि लिएको भए नेपाली सेनाले २७ लाख ७२ हजार रुपैयाँ भाडा पाउँथ्यो । सेनालाई नदिए पनि यो रकम सरकारी कोषकै रकम सिद्धिने हो ।

प्रधानमन्त्रीले एउटा प्रदेशसभालाई सम्बोधन गर्न जाँदा २७ लाख ७२ हजार खर्च १ जबकि मितव्ययी हुन सकेको भए १ लाख रुपैयाँ हवाई भाडामै मजाले काम चल्थ्यो । कुरा काट्न माहिर प्रधानमन्त्री र उनका आसेपासेले भन्न सक्लान् गाडीमा गएको भए अझ सस्तो पथ्र्यो होला नि ! हो नि त के फरक पर्छ प्रधानमन्त्री गाडीमा हिँड्दा ?

प्रधानमन्त्री बन्नुअघि र पदमा नहरँदा उनी यसरी नै एम आइ सेभेन्टिनमा सयर गर्थे ? पाएको सुविधा लिने भन्दैमा राज्यकोषको रकम ढुटो पार्नुपर्छ ? मितव्ययी बन्न मिल्दै मिल्दैन हो ?