ओलीले बुझाउनै पर्ने र मोदीले बुझ्नुपर्ने केही तथ्य

राजकुमार रेग्मी प्रकाशित : शुक्रबार, चैत्र २३, २०७४

काठमाडौँ– ‘राष्ट्रवाद’को घोडामा चढेर प्रधानमन्त्री बनेका केपी ओली भारत जाँदैछन् । नेपालमा थरीथरीका ‘राष्ट्रवाद’ चलनमा छ । खासगरी कम्युनिष्टहरु र उग्र दक्षिणपन्थीहरुले ‘राष्ट्रवाद’को नारा दिने गरेका छन् । वास्तवमा ‘राष्ट्रवाद’ अमूर्त अवधारणा हो, आधुनिक विश्वमा ‘राष्ट्रवाद’को बुझाई व्यक्ति सापेक्ष बन्दै गएको देखिन्छ ।

देश, काल र परिवेश अनि परिस्थिति अनुसार ‘राष्ट्रवाद’ले दिने अर्थ फरक हुनसक्छ ।

नेपालमा ओलीको छवी ‘राष्ट्रवादी’ छ, उता भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको छवी पनि ‘राष्ट्रवादी’ छ । दुवै आ–आफ्नो मुलुकका सर्वशक्तिमान प्रधानमन्त्री हुन् । विगतमा दुवैको टक्कर परिसकेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा ओली र मोदीको व्यक्तित्वको सेरोफेरोमा रहेर केही चर्चा गर्नु सान्दर्भिक मात्र होइन, आवश्यक पनि    हुन्छ । किनभने विदेश नीति परिचालनमा ‘व्यक्तिको भूमिकाले त्यति धेरै फरक पार्दैन’ भन्ने युग केही कालका लागि सकिए जस्तो देखिन्छ । अमेरिका, रुस, चीन, भारत जस्ता विश्वका बलिया देशमा शक्तिशाली नेतृत्वको उदय भएको छ । उनीहरुले आआफ्नो देशको परम्परागत विदेश नीतिलाई पूरै फेरिरहेका छन्, नयाँ आकार दिइरहेका छन् । यो कुरा नेपालले पनि अनुभूत गरेको छ । भारतमा मोदी प्रधानमन्त्री भएपछि नेपाल नीति कसरी फेरियो भन्ने हामीले भोगिसकेका छौं । सी जिनपिङ उदाएपछि नेपालमा चीनको उपस्थितिको पदचाप पनि सुनिरहेछौं ।

र, व्यक्तिले विदेश नीतिमा कति फरक पार्ने युग सुरु भएको छ भन्ने नेपालको आफ्नै अनुभवले पनि प्रष्ट पार्छ । धेरै व्याख्या गर्न नपर्ला, ओली प्रधानमन्त्री भएपछि नेपालले वैदेशिक मामिलामा कति अडान लियो, कति दुस्साहस देखायो भन्ने हामीले अनुभूत गरिसकेका छौं ।

मोदी र नेपाल

प्रधानमन्त्री बन्नासाथ मोदीले छिमेकीलाई प्राथमिकता दिने घोषणा गरेका थिए । सपथ लिँदा छिमेकका सरकार प्रमुखहरुलाई बोलाए । उनी प्रधानमन्त्री बनेपछि दक्षिण एसियामा शान्ति र सहकार्यको युग सुरु हुने आशा र अपेक्षा गरियो ।

मोदी नेपाल आए । संविधानसभामा उनले ‘ऋषि मनले संविधान बनाउनुस्, सहमतिको आधारमा संविधान बनाउनुस्’ भनेर भाषण दिए । सभासद्हरुले ताली पिटे । लोकप्रिय बनेर मोदी फर्किए । तर, उनको भाषणभित्रको रहस्य धेरैले बुझेनन् ।

त्यसबेला यो पंक्तिकारले ‘सहमतिको आधारमा संविधान बनाउनुस्’ भनेर मोदीले दिएको उपदेश कपटपूर्ण छ भनेर लेख लेखेको थियो । मोदीको मीठो वचनमा लठ्ठ परेको नेपाली समाजको ठूलो हिस्साले उनको कपट बुझेन । सहमतिमा संविधान कहिल्यै पनि बन्न सक्दैन, विमतिको अंश अवश्य रहन्छ भन्ने धेरैले हेक्का राखेनन् । कालान्तरमा यो कुरा कटुसत्य बनेर देखा पर्यो ।

दोस्रो पटक सार्क सम्मेलनका बेला नेपाल आउँदा मोदी फेरिइसकेका थिए, बोली र व्यवहार हेर्दा अनि उनको कुटनीति परिचालन हेर्दा उनी ठुस्किसकेका थिए । नरम मोदी गरम भइसकेका थिए ।

पहिलो भ्रमण ताका मोदीले कपट लुकाए, दोस्रो भ्रमणका बेला खासै लुकाउन सकेनन् । जनकपुर र मुस्ताङ जान नपाएकोमा समेत असन्तुष्टि देखाए ।

कालान्तरमा संविधान जारी हुँदा मोदीले ‘मैले भने अनुसार सहमतिमा संविधान बनाउन सकेनौ’ भन्दै नाकावन्दी लगाइदिए । यहाँबाट नेपाल भारत सम्बन्धमा नयाँ युग सुरु भयो । यस्तो युग आयो, भारतले जसो भन्यो हामीले त्यसै गर्नुपर्छ भन्ने छैन भन्ने भावना जाग्यो । अनेक कोणबाट नेपालमा राष्ट्रिय पुर्नजागरण प्रारम्भ भयो । नाकावन्दीको बेला निस्सासिए पनि नेपालले ठूलो आत्मविश्वाश आर्जन गर्यो ।

उता, भारतमा चाहिँ नेपाल नीतिलाई लिएर विवाद भयो । मोदीको नेपाल नीतिको यति चर्काे आलोचना भयो कि नेपाल मामिलामा आफ्नै देशभित्रै समेत मोदी रक्षात्मक बने । अझै पनि बनिरहेछन् । नेपाल मामिलामा भारत रक्षात्मक बन्दै गयो ।

वास्तवमा भारतले नेपालसँगको सम्बन्ध परिचालन शैली आफैं बसेको हाँगामा बन्चरो हान्ने कालीदाश शैलीको थियो । भारतको यो गल्तीको फाइदा नेपाललाई भयो । भारतले नाकावन्दी गरेको थिएन भने शायद अरु दुईचार दशकसम्म चीनसँग पारवहन सम्झौता हुने थिएन, पछि गएर वेल्ट एण्ड रोड परियोजनामा पनि नेपालले हस्ताक्षर गर्ने थिएन ।

नाकावन्दीले नेपालको ठूलो हित गर्यो । र, नाकावन्दीले सबैभन्दा फाइदा कसैलाई गर्यो भने एमालेलाई गर्यो । व्यक्तिगत रुपमा कसलाई सबैभन्दा धेरै राजनीतिक लाभ मिल्यो भन्ने पनि प्रष्ट छ । केपी ओलीलाई मिल्यो । नाकावन्दी हुँदा सुशील कोइराला प्रधानमन्त्री थिए, प्रारम्भिक अडान उनैले लिए । प्रधानमन्त्री पदबाट हट्नासाथ सुशीलले ‘राष्ट्रवाद’को झण्डा मिल्काइदिए, त्यो झण्डा एमाले र ओलीले बोके ।

भारतको गलत नेपाल नीति परिचालनका कारण नेपालमा ओलीको अभ्यूदय भयो । नत्र, ओली पनि विगतका अन्य प्रधानमन्त्रीहरु जस्तै सामान्य प्रधानमन्त्री ठहरिन्थे होलान् । अर्थात्, नरेन्द्र मोदीले गल्तीको जगबाट नेपालमा केपी ओलीको बलियो उदय भयो ।

ओलीको दुस्साहस

केपी ओली दुस्साहसी छन् । साहसको मात्रा धेरै भयो भने त्यसलाई दुस्साहस मान्न सकिन्छ । माले र एमाले फुट्दा नै ओलीको अडान लिने स्वभाव र वाक् प्रखरता सतहमा देखिइसकेको थियो । वामदेव गौतम नेतृत्वको मालेले चुनावमा एक सीट पनि जित्दैन भन्दै अभियान चलाएका थिए  ओलीले । नभन्दै त्यस्तै भयो ।

माओवादी सर्वशक्तिमान रहेको बेला एमालेको तर्फबाट टक्कर दिने पनि ओली नै थिए ।

अरुले बनाएको बाटोमा हिँड्ने रुची ओलीमा देखिँदैन, उनी आफ्नै बाटो बनाउँछन् र अरुलाई त्यसमा हिँडाउँछन् । नाकावन्दीको बेला यही स्वभावले काम गर्यो । असाध्यै स्वाभिमानी स्वभावका छन् ओली । यो स्वभाव पनि नाकावन्दीको बेला काम लाग्यो ।

नाकावन्दीको बेला प्रधानमन्त्रीका रुपमा ओली भारत गए । उनले भारतीय दवाब टेरेनन्, त्यसैले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न मानेनन् । संयुक्त विज्ञप्ति बिनाको भ्रमण भयो । अबका प्रधानमन्त्रीहरुले भारतीय दवाब झेल्न सक्लान्, नटेर्न सक्लान्, तर, ओलीको पालासम्म भारतले भनेको अटेरी गर्न कोही नेपाली प्रधानमन्त्रीले सक्छन् जस्तो नलाग्ने माहौल देखिन्थ्यो ।

चरम नाकावन्दीको बेला भारत गएर भारतलाई नै चुनौती दिनु दुस्साहस नै थियो । ओलीको ‘राष्ट्रवाद’को घोडा त्यसपछि बेगसँग दौडन थालेको हो ।

पछि मोदीले प्रचण्डलाई प्रयोग गरेर ओलीलाई सत्ताच्यूत गरिदिए । सत्ताच्यूत हुँदा संसदबाट ओलीले मोदीलाई कडा जवाफ दिए ।

वाम गठवन्धन बन्न नदिन भारत प्रयासरत रह्यो । ओलीले बनाइछाडे । प्रचण्डलाई ‘उता’ बाट ‘यता’ ल्याएर ओलीले विलक्षण चातुर्य र कौशल प्रदर्शन गरे । वाम गठवन्धनलाई चुनाव हराउन र ओलीलाई साइजमा ल्याउन भारतले कुनै कसर बाँकी नराखेको जगजाहेर छ । चुनावपछि पनि शेरबहादुर देउवालाई प्रयोग गरेर वाम गठवन्धन फुटाउन सकिन्छ कि भनेर न्वारान देखिको बल नलगाएको होइन । केही महिना नयाँ सरकार बन्न नदिने बाहेक भारतले केही गर्न सकेन ।

ओलीको दुस्साहसले नेपाल भारत सम्बन्धलाई यो ठाउँमा ल्याइदिएको हो । मान्नैपर्छ– ओली प्रधानमन्त्री थिएनन् भने नेपाल भारत सम्बन्ध अर्कै बाटोमा जान्थ्यो, योभन्दा बेग्लै ठाउँमा पुग्थ्यो शायद । नेपाल झन निरीह बन्थ्यो शायद । कूटनीतिमा ओलीको दुस्साहसले फाइदा गर्यो । तर, दुस्साहसले सधैं फाइदा गर्छ भन्ने छैन । कूटनीति भनेको साहस र दुस्साहस भन्दा माथिको चिज हो ।

शायद यो कुरा ओलीले बुझेका छन् । त्यसैले अनेक प्रश्नहरु बीच पहिलो विदेश भ्रमण भारतको नै गर्न लाग्दैछन् । अहिले ओलीको भारत मामिला परिचालनमा साहस र दुस्साहस भन्दा विवेक र भविष्य दृष्टिले धेरै काम गरेको हो कि जस्तो देखिन्छ । हो कि होइन भन्ने चाहिँ भविष्यले नै निर्णय दिनेछ ।

नेपाल र भारत

भविष्यमा नेपाल भारत सम्बन्धको कालखण्ड वर्गीकरण गरिँदा ‘नाकावन्दी अघि र नाकावन्दी पछि’ भनेर अवश्य गरिएला ।

फूच्चे विरालोलाई पनि कोठाभित्र थुनेर नकुट्नु, ज्यान बचाउन प्रतिकार गर्छ भनिन्छ । नाकावन्दीको बेला नेपाल फूच्चे विरालो थियो, फूच्चे विरालोले ज्यान जोगाउन प्रतिकार गर्यो । यहिँबाट सुरु भयो नेपाल भारत सम्बन्धको नयाँ युग ।

आत्मविश्वाशपूर्ण, स्वाभिमानी र स्थिर नेपाल स्वयं भारतको पनि हितमा छ, यो कुरा भारतले बुझ्न सक्ने हो भने नेपाल भारत सम्बन्धको नयाँ युग उज्यालो हुनेछ । अब नेपाल भारत सम्बन्धमा नयाँ युग सुरु गर्नमा भारतीय प्रधानमन्त्री मोदीको भन्दा केपी ओलीको भूमिका धेरै हुनेछ । किनभने दक्षिण एसिया तथा विश्वमा फेरिएको स्वार्थ सम्बन्धहरुमा नेपाल कहाँ उभिने भन्ने निर्णय नेपालले गर्नुपर्ने हुन्छ, ओलीले गर्नुपर्ने हुन्छ ।

वास्तवमा भारत समस्यामा छ, यो कुरा नेपालले बुझिदिनुपर्छ । समस्यामा फसको हुनाले नै विगतको गरम भारत नरम बन्न थालेको हो । भारतको नरमपनालाई नेपालले कमजोरी ठान्नु गल्ती हुनेछ । भारतको समस्या चीन हो । दक्षिण एसियामा भारतको परम्परागत प्रभुत्व खुम्चिँदै गएको छ, चीनसँग अनेक स्वार्थमा, विशेषत सामरिक र व्यापारिक स्वार्थमा टक्कर परिरहेछ ।

चीन र भारतको अदृष्य टक्कर र ठक्करको आवाज दिल्ली र बेइजिङमा जत्तिकै नेपालमा पनि आइरहेछ । नेपालले आफ्नो तराजु चीनतिर ढल्काइदिने हो भने भारत समस्यामा पर्नेछ । यो प्रष्ट छ । नेपालले यसो गर्ने त ? ओलीको भारत भ्रमणको क्रममा खोजिने मुख्य जवाफ यही हो । अन्य सन्धी सम्झौता र सहयोगहरु त तपसिलका विषय हुन् । यद्यपी, ओलीको भ्रमण हुँदा जारी हुने संयुक्त विज्ञप्तिमा तपसिलका विषय उल्लेख हुनेछ, मुख्य विषय ‘चीन तत्व’ को उल्लेख हुने छैन । विज्ञप्तिको बान्की तथा ओली र मोदीको हाउभाउबाट ‘चीन तत्व’को हालखबर बुझ्नुपर्ने हुन्छ ।

भ्रमणको क्रममा भारतले केके सहयोग दिन्छ, ओलीले केके कोसेली ल्याउँछन् भन्ने पनि तपसिलको विषय हो । मुख्य विषय भविष्यमा नेपालले भारतसँगको समग्र सम्बन्धलाई कसरी अगाडि बढाउँछ भन्ने नै हो । भौगर्भिक रुपमा भारतीय टेक्टोनिक प्लेट चीनतिर सर्नबाट रोक्न सकिँदैन भन्ने भारतले बुझेकै छ । कूटनीतिक रुपमा चीनतिर ढल्कँदै गएको नेपाललाई चाहिँ ढल्कनबाट रोक्न सकिन्छ भन्ने भारतले बुझेको हुनुपर्छ । उसको बुझाईलाई अन्यथा लिन हुन्न ।

र, ओली भारतबाट फर्कंदा भारततिर ढल्किएको पनि नेपालीलाई सह्य हुने छैन । न चीनतिर ढल्किएको सह्य हुनेछ । दुवैलाई फकाएर राष्ट्रिय हितका लागि सम्बन्ध परिचालन गर्नु चुनौतीपूर्ण छ । यसका लागि दुस्साहसभन्दा कूटनीतिक कौशल चाहिन्छ । भारतलाई तिमीसँग जस्तै चीनसँग पनि सम्बन्ध राख्छौं भनेर बुझाउने र तिम्रा विरुद्ध कसैसँग मिल्दैनौं भनेर विश्वाश दिलाउने नै ओलीको भारत भ्रमणको एजेण्डा नम्बर एक हुनुपर्छ र यो एजेण्डा अदृष्य नै रहेको राम्रो ।

परिवर्तन विभिन्न खालको हुन्छ, समयले ल्याउने परिवर्तनको गतिलाई किमार्थ रोक्न सकिन्न । नेपाल अहिले जुन बाटोमा गइरहेको छ, देश निर्माणको भोक नेपालीलाई जुन लागेको छ, त्यो भोकले नेपाललाई भारत जसरी नै चीनसँग पनि सम्बन्ध राख्न प्रेरित गरिरहेको छ । यो प्रेरणाको अगुवाई नै ओलीको ‘राष्ट्रवाद’को अन्तर्य हो भन्नु अन्यथा नहोला । भारतको विरोध गर्नु नै ‘राष्ट्रवाद’ हो भन्ने वोक्रे धारणा नेपालमा मृतप्राय भइसकेको छ । त्यस्तो वोक्रे राष्ट्रवादको ठाउँमा भारत र चीन दुवैसँग तटस्थ र मैत्रीपूर्ण सम्बन्ध राख्ने विवेकपूर्ण दृष्टिकोण नेपालमा बलवान बन्दै गइरहेको छ । यसो हुनु नै भारतको हितमा समेत छ ।

भ्रमणको क्रममा ओलीले यो कुरा मोदीलाई बुझाउन सक्लान् ? मोदीले यो कुरा बुझ्न मान्लान् ?

सरलपत्रिकाबाट