काठमाडौंमा तीन श्रेणीका १५० ‘डन’, नेतादेखि प्रहरीसम्म ‘कनेक्सन’

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र २२, २०७४

काठमाडौं– कानूनलाई मुठ्ठीमा लिएर सर्वसाधारणलाई धम्काउने, थर्काउने, अनि तर्साउने । यसरी समाजमा आतंक मच्चाएर आफ्नो स्वार्थ पूरा गर्ने केही गुण्डा नाइके प्रहरी इन्काउन्टरमा मारिएपनि समस्या भने घटेको छैन ।

अहिले पनि भित्र–भित्रै गुण्डाहरुको दबदबा चलिरहेकै छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तयार पारेको गुण्डाहरुको सूचीमा अहिले १ सय ५० भन्दा बढीको नाम छ । परिसर प्रमुख एसएसपी विश्वराज पोखरलेलका अनुसार उनीहरुका बारेमा प्रहरीले सुक्ष्म मूल्यांकन गर्दै ए, बी र सी गरी तीन तहमा वर्गीकरण गरेर निगरानीमा राखेको छ ।

प्रमुख पोखरेलका  अनुसार, ए बर्गका गुण्डाहरु ६/७ जना छन्, बी बर्गका गुण्डाहरु ४०–५० जना छन् । त्यस्तै बाँकी गुण्डाहरुलाई प्रहरीले सी बर्गमा राखेको छ । एसएसपी पोखरेलका अनुसार, ती गुण्डाहरुले राजधानी लगाएत आसपासका जिल्लाका विभिन्न स्थानलाई आफ्नो खेलखोर बनाएर अपराध गर्ने गरेका छन् । ती मध्ये कतिपय गुण्डाहरुलाई बलियो राजनीतिक संरक्षण छ । राजनीतिक नेतृत्वले नै उनीहरुको संरक्षण गर्दा नियन्त्रणमा समस्या थपिएको प्रहरीको गुनासो छ ।

यस्तो छ गुण्डा नाइकेहरुको राजनीतिक कनेक्सन

 

गणेश लामा– गच्छदार कनेक्सन

गुण्डागर्दीमा नाम कहिलएको नाम हो गणेश लामा । ठमेललाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका काभ्रेली समूहका लामालाई २०६७ पुस २० गते मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले केन्द्रीय सदस्य बनाएको थियो ।

पार्टी अध्यक्ष विजय गच्छदार कांग्रेस प्रवेश गरेसँगै लामापनि कांग्रेस प्रवेश गरेर काभ्रे क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका थिए । तर हार बेहोरेका लामालाई अहिले प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

दिपक मनाङ्गे, चक्रे मिलन र पर्शुराम बस्नेत– एमाले कनेक्सन 

दीपक मनाङे उर्फ राजीव गुरुङपनि अर्का चर्चित गुण्डा नाइके हुन् । उनको आधार क्षेत्र ठमेल हो । उनको सुरुपमा राप्रसँग नाता थियो । पछि एमाले प्रवेश गरे । शुरुमा एमालेले उनलाई मनाङमा प्रदेशसभाको टिकट दिने निर्णय नै गरेको थियो तर चौतर्फि विरोध भएसंगै उनले एमालेबाट टिकट पाएनन् र स्वतन्त्र उम्मेदवारी दिए । एमालेले आफ्नो पार्टीको तर्फबाट दिएको उम्मेदवारी फिर्तालिएर मनाङ्गेलाई समर्थन गरेपछि उनले चुनाव जिते ।

तर, खुकुरी हानेको मुद्दामा अदालले उनलाई दोषी ठह¥याए स“गै उनी अहिले फरार अभियुक्त छन् । उनलाई प्रहरीले इन्टरपोलको रेडकर्नर नोटिसमा समेत राखेर खोजी गरिरहेको छ ।

गुण्डागर्दी दुनियाँको चर्चित नाम हो – चक्रे मिलन । चक्रपथ र चाबहिललाई आधार क्षेत्र बनाउँदै चक्रे दुई दशकदेखि गुण्डा नाइकेका रुपमा चिनिँदै आएका छन् । काठमाडौंमा धेरै गुण्डाहरू जन्माउनेमा चक्रे अग्रपंक्तिमा छन् । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे, दिनेश अधिकारी ‘चरी’ पनि उनका चेला हुन् ।

अर्का गुण्डा नाइके विराटनगरका पर्शुराम बस्नेत भने पूर्वी क्षेत्रमा नाम कहलिएका छन् । उनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्रका रुपमा समेत चिनिन्छन् ।

अभिषेक गिरी – कांग्रेस कनेक्सन 

विराटनगरका अभिषेक गिरी पनि गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाउने सूचीमा छन् । अहिले उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलाई अपहरण गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । तरुण दलको जिल्ला सदस्य अभिषेक कांग्रेसको कोइराला र देउवा दुवै क्याम्प निकट मानिन्छन् । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण विभागले दीपक मनाङ्गे, चक्रे मिलन, गणेश लामा, अभिषेक गिरी र परशुराम बस्नेत विरुद्ध विशेष अदालतमा मुद्दा चलाइएको थियो । पाँचवटा छुट्टाछुट्टै मुद्दामध्ये दीपक मनाङे र चक्रे लामाले भने सफाइ पाइसकेका छन् ।

यी बाहेक अहिले चर्चामा आएका राजु गोर्खाली, मिनकृष्ण मर्हजन, बिष्णु लामा, दावा लामा, सञ्जीब लामा उर्फ स्याल, बिनय मगर, तेजेन्द्र गुरुङ, विनय मगर नेपाली कांग्रेस निकट मानिन्छन् ।

त्यसैगरी अभिमानसिंह बस्नेत, आशिस राई, युद्ध लामा, अनिले हेक्का, कृष्ण खड्का एमाले निकट मानिन्छन् । (यसबाहेकका गुण्डाहरुको नाम गोप्य राखिएको छ) जे भएपनि कानूनलाई हातमा लिएर आफ्नो स्वार्थ पूरा गर्ने यस्ता गुण्डाहरु कसैलाई नछाड्ने महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलको दाबी छ ।

गुण्डा नाइकेको मुख्य धन्दाः मिटरब्याज, ठेक्काको कमिशन र जुवा

प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार, गुण्डाको पेशा बाहिरबाट नियाल्दा रेष्टुरेण्ट क्रसर, ढुंगा, बालुवा लगाएत व्यवसाय बढी देखिएपनि भित्री रुपमा मिटर ब्याज, ठेक्काको कमिशन, फिरौती तथा जुवा रहेको छ ।

आपराधिक मुद्दामा थुनामा परेपनि कतिपय गुण्डाहरूको कनेक्सनबारे दलका शीर्ष नेताहरू मात्र होइन प्रहरीका उच्च अधिकारीहरुसमेत बोल्न चाह“दैनन् । प्रहरी स्रोतका अनुसार, छहारी दिएका दलका शीर्ष नेतृत्व मात्र होइन, प्रहरी र मुद्दामा आफ्नो तर्फबाट बहस गर्ने कानून व्यवसायीलाई समेत गुण्डाहरूले राम्रै रुपमा आर्थिक सहयोग गरेका छन् ।

कसरी शुरु हुन्छ गुण्डागर्दी

महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्द भन्छन् – बिशेष गरी देखासिकि र रातारात धनी हुने महत्त्वकांक्षाका कारण यो क्षेत्रमा लाग्नेकोको संख्या बढ्दै गएको देखिन्छ । महंगो र आर्कषक ब्राण्डेड लत्ता कपडा, महंगा गाडी, विल्डिङ अनि आरमको जिन्दगी जो कोहीलाई सपाना र रहर हुन्छ । यही सपना एकाएक चुलिंदै जा“दा ठूलो महत्त्वकांक्षी व्यक्तिहरु यस्तो पेशा तर्फ लाग्ने गरेका छन् ।

कतिपयले आपनो फाईदाकै लागि बिभिन्न प्रलोभन देखाई कसैलाई लागूऔषधको दुव्र्यशनी बनाएर त कसैलाई मुद्दा मामलमा तथा झै झगडामा समाबेश गराएर यो क्षेत्रमा होम्याउने गरेको समेत अनुसन्धानबाट खुलेको छ । एआइजी चन्दका अनुसार, यसमा सवैभन्दा बढी जोशमा होस गुमाउने उमेर समूह अर्थात युवावर्ग बढी संलग्न भएको देखिन्छ ।

यस्तो छ प्रहरी र गुण्डा सहकार्य

प्रहरी र गुण्डाबीच हुने गरेको सहकार्य कुनै नौलो विषय भने होईन । स्रोतका अनुसार काठमाडौंमा गुण्डाहरु मार्फत हुने ८५ प्रतिशत काममा कुनै न कुनै प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग हुने गरेको छ । तर, यसो भनिरह“दा सबै प्रहरीको गुण्डा स“ग कनेक्सन छ अर्थात सवै प्रहरी भ्रष्ट छन् भन्ने होईन । तर, सबै प्रहरी इमान्दार हुने हो भने देशभरबाट नै गुण्डागर्दी पत्तासाफ हुने कुरा भने सुनिश्चित छ । केही प्रहरी अधिकारी र गुण्डाहरुको संगठन बीच सम्बन्ध रहने गरेको प्रहरी स्रोतको दाबी छ ।

नाता सम्बन्ध, राजनैतिक विचार र भूगोल जस्ता कुराहरुले केही प्रहरी अधिकृत कुनै गुण्डा प्रति कम आक्रामक देखिने गरेका छन् । कतिपय प्रहरी अधिकृतहरुले त गुण्डाहरुस“ग सहकार्य नै गरेर आफ्नो पैसा समेत मिटरब्याज धन्दामा लागाउने गरेको समेत बुझिएको छ ।

प्रहरीमा जाहेरी कम पुग्दा थप समस्या

पूर्व एआइजी नवराज ढकालका अनुसार गुण्डाबाट पीडित भएकाहरु त्रास कै कारण हत्तपत्त प्रहरीकोमा जाहेरी दिन नै पुग्दैनन् । उनीहरु गुण्डाले केही गर्ने डरका कारण समस्या लुकाएर बस्न बाध्य छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार, कुनै गुण्डा विरुद्ध उजुरी पर्‍यो र प्रहरीले समात्यो भनेपनि राजनीतिक पहुँच र पैसाका कारण कारवाहीमा समस्या हुन्छ । प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार, कतिपय जेलमा परेका गुण्डानाइकेहरुले समेत भित्रैबाट आपराधिक धन्दा चलाएका छन् ।

इन्काउन्टरमा मारिएका गुण्डा नाइके र राजनीतिक कनेक्सन 

श्रृङ्खलाबद्ध भएका प्रहरी इन्काउन्टरमा राजनीतिक संरक्षण भनिएका गुण्डानाइकेहरु समेत मारिएका छन् । पछिल्लो ४ बर्षमा भएका इन्काउन्टरका घटना हेर्ने हो भने राजनीतिक संरक्षणले कुनै अपराधी प्रहरीबाट जोगिन सक्दैन भन्ने कुराको समेत पुष्टि भएको छ । २०७१ साउन २१ गते काठमाडौंको भीमढुङ्गामा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ एमाले निकटका मानिन्थे । यद्यपी चरीमाथि इन्काउटर हुँदा गृहमन्त्री एमालेकै उपाध्यक्ष वामदेव गौतम थिए ।

चरी इन्काउन्टरमा परेपछि केही एमालेका नेताले त सडक देखि सदन सम्म तताएका थिए । २०७३ भदौ ३ गते, काठमाडौंको कपुरधारामा मारिएका गुन्डा नाइके घैंटे सामाखुसीलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्ने गर्थे । घैंटे नेपाली का“ग्रेस निकट मानिन्थे । उनी मारिएपछि केही का‌ग्रेस नेताहरुले सडक देखि मानवअधिकार आयोग सम्म पुगेका थिए । २०७४ फागुन ९ गते रुपन्देहीको देवदहमा प्रहरी इन्काउन्टरमा परि गुन्डा नाइके मनोज पुनले पनि पहिले माओवादी र त्यसपछि एमाले निकट भातृसंगठनमा रहेर काम गरेका थिए ।

जे भएपनि गुण्डागर्दीले न त यसमा लाग्नेहरुकै भलो गर्छ नत अरुको नै । त्यसैले गुण्डागर्दी नियन्त्रणका लागि नियमनकारी निकाय निर्मम बन्नै पर्छ । किनकी यो कानूनी राज हो गुण्डाराज होइन ।

लोकान्तरबाट