कांग्रेसले उठायो केपी ओलीको सातो जाने ठूलो मुद्दा, विद्या भण्डारीको पनि साथ

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र १९, २०७४

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेकपा एमालेसँग जोडिएको गम्भीर विषय उठाएको छ। एमालेकै नेता मुछिएको आशंका गरिएको जननेता मदन भण्डारी सवार जिप दुर्घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याउन कांग्रेसले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएको हो।

कांग्रेसको कदमलाई राष्ट्रपति एवं भण्डारीपत्नी विद्या भण्डारीले यसअघि नै छानविन हुनुपर्ने भन्दै साथ दिइसकेकी छन्। उनले आजसम्म पनि घटनाको छानविन नहुनु दुःखद भएको बताएकी थिइन्। यसबाट पनि उनी आफ्ना पति दुर्घटनाको छानविन चाँहन्छिन भन्ने बुझिन्छ। अर्काेतर्फ कांग्रेसले पनि आवाज उठाएपछि अब ओलीलाई छानविन अगाडि बढाउनुपर्ने दबाब बढेको छ।

कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले मदन भण्डारीको दुर्घटनामा मृत्यु भएका बारेमा सत्य तथ्य बाहिर ल्याउने उपयुक्त अवसर वर्तमान सरकारलाई रहेको भन्दै अगाडि बढाउन ओलीलाई सुझाव दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै मदन भण्डारी सवार जिप दुर्घटना र मृत्युका बारेमा सत्यतथ्य बाहिर ल्याउने योभन्दा उपयुक्त समय कहिल्यै नआउने व्यङग्य गरेका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले मदन भण्डारीको जिप दुर्घटनालाई हत्या भएको भनेर २५ वर्ष अगाडि नै भनिसकेको कांग्रेस नेता लेखेकले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

‘महामहिम राष्ट्रपतिजीले २५ वर्षपछि मदन भण्डारीजीको दुर्घटनाबारे छानविन गर्न माग गर्नु भयो’, कांग्रेस नेता लेखकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘घटनाको छानविन गर्न तत्काल पार्टी आयोगका अध्यक्ष रहेका वर्तमान प्रधानमन्त्री ओलीजीले यो हत्या हो र हत्यारालाई सार्वजनिक गर्ने भन्नु भएको थियो ।’

नेता लेखकले अगाडि लेख्छन्, ‘ओलीजीका लागि सत्य तथ्य सार्वजनिक गरी आफ्नो बोलीको विश्वसनीयता देखाउने अवसर आएको छ । हेरौँ उहाँका बोली कति भरपर्दा हुँदा रहेछन् ?’

मोरङ जिल्लामा भएको एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले मदन भण्डारीको जिप दुर्घटनाका बारेमा अनुसन्धान हुनेपर्ने माग गरेकी थिइन् । त्यस लगत्तै कांग्रेसले सो घटनाको छानविन गर्ने उपयुक्त समय रहेको भनेर टिप्पणी गरेको हो ।

यो पनि हेर्नुहोस