प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत ! नाकाबन्दीबाट कमाएको राष्ट्रवादले हावा खान सक्ने !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र ८, २०७४

काठमाडौं – पछिल्लो पटक राष्ट्रवादी नेताको परिचय बनाएका केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसदमा दुई तिहाई बहुमत प्राप्त गरेका छन् । उनी दुई तिहाइ प्राप्त गर्ने पहिलो कम्युनिस्ट नेता हुन् ।

दुई प्राप्त पहिलो कम्युनिस्ट प्रधानमन्त्रीले आगामी पाँच वर्ष कसरी सत्ताको नेतृत्व गर्लान् ? सबैले हेरेको विषय हो । कम्युनिस्ट सरकारले नेपालका विद्यामान बेथितिसँग कसरी मुकाविला गर्ला ? सबैले हेरेको अर्को विषय हो । त्यसैगरी ओलीले आफ्नो परिचयलाई कायम राख्न सक्छन् वा सक्दैनन् यो पनि बडो रुचिका साथ हेरिएको छ ।

प्रधानमन्त्री निर्वाचित भएपछि दुबै छिमेकीसँगै धेरै देशहरुले भ्रमणको निम्तो पठाएका छन् । अहिलेसम्म पहिलो औपचारिक भ्रमण भारत गर्ने, उससँग पहिलो सम्झौता गरेपछि मात्रै अन्य देशहरुको भ्रमण गर्ने चलन बनेको छ । ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला नाकाबन्दी कारण त्यसमा केही असर पुगेको थियो ।

नेपाली नेताहरुले प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारत गर्ने, उसको आर्शिवाद आदेशअनुसार परराष्ट्र नीति बनाउने र अन्य देशको भ्रमण गर्ने गरेको आरोप लाग्दै आएको छ । त्यसैले पहिलो भारत भ्रमण हुनुलाई राष्ट्रियतासँग पनि जोडिने गरिएको छ । भारतले नेपाल र नेपालीको हित नचाहने भएको कारण पनि त्यो बुझाई बनेको हो । र, यो पुस्तान्तरण भइरहेको छ ।

नाकाबन्दीको बेला भारतसँग नझुकेका भनिएका ओलीले सहयोग गर्ने चीनको पहिलो भ्रमण गर्छन् वा पुरानै शैलीलाई दोहोर्‍याउँछन् ? भन्ने देशभित्र मात्र होइन विदेशमा पनि चर्चा र बहसको विषय बनेको छ ।

यसैबीच विहीबार संचारमाध्यमहरुमा प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत नै समाचारहरु आए । स्रोतलाई उदृत गर्दै आएका समाचारले तरंगित बनाएको छ । चैत्र महिनाभित्रै प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले थालिसकेको बताइएको छ । भ्रमणको मितिबारे दुबै देशका अधिकारीहरुबीच छलफल जारी रहेको बताइएको छ । तर, औपचारिक रुपमा प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन ।

अप्ठ्यारो पर्दा सहयोग गर्ने चीनमा पहिलो भ्रमण हुनुपर्छ भन्ने कुरा आम बनेको छ । यदि प्रधानमन्त्री ओलीले पहिलो भ्रमण भारतै गरेभने आम नेपालीको चाहना र अपेक्षा विरोधी काम हुनेछ । र, भारतले गर्ने यसअघि बन्दै आएको जालमा ओली सुरुमै परे भने दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकारले पाँच वर्षमा झन् बेथितीको समाना गर्नुपर्ने हुन्छ ।

भारतको संस्थापन कम्युनिस्ट विरोधी हो, उसले नेपालमा कम्युनिस्टको नाम लिएका कसैले पनि राम्रो गरेको हेर्न सक्दैन । कम्युनिस्ट विरोधीलाई नै प्रधानमन्त्रीले ओलीले विश्वास गरेमा नाकाबन्दीमा कमाएको राष्ट्रवादले हावा खाने निश्चित छ ।

प्रधानमन्त्री बन्नु भन्दा पहिलो भारतीय विदेशमन्त्री सुष्मा स्वाराजलाई ओलीले बोलाएर गोप्य रुपमा भेटेपछि ओलीको राष्ट्रवादलाई सलाम ठोकेका नेपालीहरु केही झस्केका छन् । यसलाई प्रधानमन्त्री ओलीले कसरी सम्बोधन गर्छन् हेर्न बाँकी छ ।