कोटेश्वरको घर बेचेर एल्जिनालाई डाक्टर पढ्न पठाएका थिए बराल परिवारले…

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ३०, २०७४

काठमाडौं– सिन्धुली स्थायी घर भएका गणेश बराल र गंगा बरालले सुख– दुःख गरेर काठमाडौंको कोटेश्वरमा घर बनाएका थिए । कहिले जागिर कहिले व्यापार गरेर गणेशले कोटेश्वरमा घर बनाएका थिए ।

छोरी एल्जिनाले एमबीबीएस पढ्न रहर गरेपछि उनीहरुले काठमाडौं कोटेश्वरको घर बेचे । एल्जिनाकी दिदी पनि बंगलादेशमै रहेकोले कान्छि छोरीलाई पनि एमबीबीएस पढ्न ढाका पठाए । तर सोमवार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा बराल परिवारको खुसी मेटिएको छ ।

‘छोरीलाई डाक्टर पढाउन भन्दै दिदीहरुले कोटेश्वरको घर बेच्नु भएको थियो’ त्रिवि शिक्षण अस्पतालमा शव बुझ्न आएकी एन्जिलाकी सानिआमा सुशीला भट्टराईले भावविह्वल हुँदै  भनिन्, ‘दिदी भिनाजुको सपना चक्कानाचुर भयो ।’

घर बेचेपछि एन्जिलाका बुवाआमा अहिले काठमाडौंको गौशालामा डेरा लिएर बस्छन् । जेठी छोरी एलिना पनि बंगलादेश मै छिन् । उनी एमबीबीएस सकेर प्राक्टिकल गर्दै छिन् ।

‘एन्जिला साह्रै असल थिई, आखामा राखेपनि नबिझाउने’ सानीआमाले आशु पुच्छदै भनिन्, ‘बावुआमाको धेरै पैसा खर्च नहोस् भनेर सामान्य कपडा लगाउने, नक्कल पार्न नपर्ने ।’

आमा गंगा बराल राप्रपाकी कार्यकर्ता हुन् । स्थानीय चुनावमा उनी सिन्धुलीबाट चुनाव लडेकी थिइन् । ‘मेरी छोरीहरुसँग भाइवरमा कुरा हुन्थ्यो, नेपाल आउँदा पनि जति बेला पनि पढ्ने । पढ्न फुर्सद हुँदैन किन नक्कल पार्नु पर्र्यो भन्थिन्’ सुशीलाले भनिन् ।

सुशीलाका अनुसार सोमवार भएको विमान दुर्घटनामा एन्जिलाको व्याग र पासपोर्ट पनि डढेको छ । ‘घटना सुनेर दिदी बेहोस हुनु भयो’ सुशीलाले भनिन् । बराल परिवार छोरीको शव बुझ्नको लागि त्रिवि शिक्षण अस्पताल पुगेको छ।