बंगला विमान दुर्घटनाका प्रत्यक्षदर्शीको यस्तो सनसनीपूर्ण बयान

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, फाल्गुन २९, २०७४

काठमाडौँ – हामी अफिसको सातौं तलामा बैठकमा थियौं । त्यहाँबाट विमानस्थलको सम्पूर्ण दृश्य राम्रोसँग देखिन्थ्यो । करिब दुई बजेर १६ मिनेट गएको थियो । मैले बंगलादेशको यूएस बंगला जहाज पेप्सीकोला माथिबाट अत्यन्तै तलबाट उड्दै आएको देखें । हेर्दा त्यहाँका घरमै ठोकिन्छ जस्तो थियो । त्यो अनियन्त्रितजस्तो देखियो । विमानको त्यो अवस्था देख्नेबित्तिकै मलाई त्यसमा समस्या छ जस्तो लाग्यो ।

कार्यकक्षमा रहेका अन्य सहकर्मीले पनि विमानको त्यो अवस्था देखे । विमानस्थलस्थित कन्ट्रोल टावरको माथिबाट हुँदै त्यहाँ रोकिएर राखिएका थाई एयरको विमानलाई छुँलाजस्तो गरी माथिबाट त्यो विमान उडेजस्तो देखियो । मलाई त त्यहाँ उडानका लागि तयारी अवस्थामा रहेको सौर्य एयरलाइन्सको प्लेनमा गएर ठोक्किन्छ झैं लागेको थियो । विमान धावनमार्ग (रन वे) भन्दा फरक दिशामा थियो ।

धावनमार्ग एकातिर छ तर त्यो विमान अर्कोतिर गएको देख्नेबित्तिकै हामीलाई अब दुर्घटनामा प¥यो भन्ने भयो । किनभने पेप्सीकोलातिरबाट आएको दायाँ चक्काले मात्र जमिन (ग्राउण्ड) छोएको देखियो । त्यत्तिकैमा त्यो विमान अनियन्त्रित भएर हरायो । हराएको एक सेकेण्डमै आगोको मुस्लो देखाप¥यो । त्यतिबेला ठ्याक्कै दुई बजेर १८ मिनेट गएको थियो । विमानबाट निस्किएको मुस्लो माथिसम्म पुगेको थियो होला । त्यसको एक÷दुई मिनेटमा त त्यहाँ दमकल आगो निभाउन पुगिसकेका थिए । बाटोभरी एम्बुलेन्सको आवाज सुनिन थालेको थियो ।

[ अन्नपूर्ण पोस्टमा छापिएको प्रत्यक्षदर्शीको बयान ]