पूर्व राष्ट्रपति अवैध सम्पत्ति आर्जन मुद्दामा पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २८, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – अवैध सम्पत्ति आर्जन गरेको आरोपमा सम्पति शुद्धीकरणसम्बन्धी मुद्दा लागेका पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी राजधानी इस्लामावादमा पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

देशको उच्च अदालतले जर्दारी र उनकी बहिनीका लागि पूर्व पक्राउ जमानत लम्ब्याउन अस्वीकार गरेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

जर्दारी र उनको बहिनीविरुद्ध झुटा बैंक खातामार्फत आर्थिक अवस्था लुकाएको आरोप लाग्दै आएको छ । पहिले पनि जर्दारीले भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगेको भएपनि उनी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए । उनकी पत्नी पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यापछि उनी राष्ट्रपतिका रूपमा चुनिएका थिए ।

इस्लामावाद उच्च अदालतले जर्दारीका लागि पूर्व पक्राउ जमानत थप गर्न अस्वीकार गरेसँगै राष्ट्रिय उत्तरदायित्व ब्युरो (एनएबी) का सदस्यहरू उनको निवासमा गएको फुटेज पाकिस्तानी मिडियाले देखाएका छन् । फुटेजमा उनले आफ्ना छोरा बिलावाल भुट्टो जर्दारीसँगै निवासस्थान छोडेको देखिएको छ ।

जर्दारीका छोरा बिलावाल हाल पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टी (पिपिपी) का वर्तमान अध्यक्ष रहेका छन् । राष्ट्रिय उत्तरदायित्व ब्युरोका सदस्यहरू जर्दारीलाई पक्राउ गर्न इस्लामाबादस्थित उनको निवासमा पुगेलगत्तै पिपिपीका समर्थक त्यहाँ भेला भएका थिए ।

पाकिस्तानको राजनीतिमा जर्दारीलाई अत्यन्तै विवादित व्यक्तिका रूपमा चित्रण गर्ने गरिएको छ । उनले सन् १९९० को दशक र २००० को दशकमा जेल जीवन बिताएका थिए र उनलाई ‘मिस्टर १० प्रतिशत’को उपनामसमेत दिइएको थियो ।

उनले सरकारी कन्ट्याक्टहरूबाट १० प्रतिशत कमिसन लिने गरेको आरोप लागेकाले उनको उपनाम नै ‘मिस्टर १० प्रतिशत’ राखिएको थियो ।