हिंसात्मक भिडियो शेयर गरे फेसबूकमा प्रतिबन्ध !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

काठमाडौं – चर्चित सामाजिक सञ्जाल फेसबूकले हिंसात्मक भिडियोको लाइभ र यसको शेयरिङ रोक्नको लागि ‘वान स्ट्राइक पोलिसी’ बनाएको छ ।

कम्पनीले न्यूजिल्याण्डको क्राइटचर्चमा भएको हमलाको लाइभ फेसबूकबाट भएपछि यस्तो फैसला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीले आफ्नो समाचारमा लेखेको छ, ‘जसले हिंसालाई प्रशय दिने भिडियो लाइभ प्रशारण गर्छ, उसको लाइभ स्ट्रिमिङ फिचर दुरुपयोगको ठहर भएमा फेसबूकले यो सेवामा प्रतिबन्ध लगाउन सक्छ ।’

फेसबूकको निर्णयसँगै अब यदि कसैले आफ्नो फेसबूकबाट हिंसात्मक भिडियो लाइभ गरेमा फेसबूकले एक्सन लिन सक्नेछ र निश्चित समयको लागि प्रतिबन्ध लगाउने छ ।

समाचारअनुसार पहिलो चरणमा एक महिनाको प्रतिबन्ध लगाउने गरी फेसबूकले नीति बनाएको छ ।