क्रिश्चियनका चर्चमा खतरनाक विस्फोट, कम्तिमा ५० जनाको मृत्यु, डरलाग्दा दृश्य देखिए !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख ८, २०७६

काठमाडौं – क्रिश्चियनहरूले चलाइरहेका चर्चमा आईतबार शृंखलाबद्ध विस्फोट हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

श्रीलंकाका विलासी होटल तथा चर्चमा ईस्टर सर्भिसेजका लागि भेला भएका सयौं भक्तहरू घाइते भएका छन् ।
पहिलो विस्फोटन कोलम्बोस्थित सेन्ट एन्थोनी चर्च अनि नेगोम्बो शहरमा रहेको सेन्ट सेबास्टियन चर्चमा भएको थियो ।

कोलम्बो राष्ट्रिय अस्पतालका निर्देशक सामिन्दी सामराकूनले कम्तिमा ५० जनाको मृत्यु र २८० जना घाइते भएको आफूले थाहा पाएको रोयटर्स समाचार संस्थालाई बताएकी छन् ।

सेन्ट एन्थोनीमा भएको विस्फोटमा कम्तिमा १६० जना घाइते भएको र उनीहरूलाई कोलम्बो राष्ट्रिय अस्पतालमा भर्ना गरिएको एक अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटनको घटनालगत्तै प्रहरीले कोलम्बोमा रहेका तीनवटा होटलमा पनि विस्फोट भएको र देशको पूर्वी भागमा रहेको बाट्टिकालोआ शहरमा रहेको चर्चमा पनि आक्रमण भएको बताए ।

बाट्टिकालोसा अस्पतालका एक अधिकारीले एएफपीलाई बताएअनुसार ३०० भन्दा बढी मानिस घाइते भएर अस्पतालमा भर्ना भएका छन् । श्रीलंकाका एक सांसद हर्षा डी सिल्भाले आफू एक चर्च र एक होटलमा पुगेको र डरलाग्दा दृश्य देखेको बताए ।

‘सबैतिर शरीरका अंगहरू छरिएका थिए । आपतकालीन उद्दारकर्ताहरू घटनास्थलमा उद्धार कार्यमा लागेका छन्,’ उनले ट्विटरमा लेखेका छन् । सामाजिक सञ्जालमा राखिएका तस्वीरमा एउटा चर्चको छत विस्फोटका कारण लगभग उडेको देखिएको छ ।

श्रीलंकामा बौद्ध धर्मावलम्बीको बहुमत छ र त्यहाँ जम्मा ६ प्रतिशत क्याथोलिक धर्मावलम्बी छन् । तर यो धर्ममा तमिल र अन्य अल्पसंख्यक जातीय समूहहरूपनि जोडिएका छन् । घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन । प्रहरीको अनुसन्धान गरिरहेको स्थानीय अधिकारीले बताएका छन् ।