यौन शोषणको गम्भीर आरोप लागेपछि राज्यमन्त्रीद्वारा राजीनामा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, अशोज ३१, २०७५

नयाँदिल्ली – थुप्रै महिलाले यौन शोषणको आरोप लगाएपछि भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिएका छन् ।

उनीविरुद्ध १६ महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । २० महिला उनीविरूद्ध गत बिहीबार पटियाला हाउस कोर्टमा बयान दिन तयार भएका थिए । अकबरमाथि एक सातादेखि राजीनामाको दबाव थियो ।

यसबीच ‘मी टुु अभियानमार्फत् सार्वजनिक भइरहेका मामिलाको जाँचका लागि नरेन्द्र मोदी सरकारले समिति बनाउने तयारी गरेको छ । मोदी सरकारले मन्त्रीहरूकै एक जाँच समूह बनाउन लागेको हो ।

राजीनामा दिने क्रममा वक्तव्य जारी गर्दै अकबरले न्यायका लागि अदालत जाने बताएका छन् । आफूले न्यायका लागि अदालत जानका लागि पदबाट बाहिरिन उचित ठानेको अकबरको भनाइ छ । उनले न्यायका लागि झूटो आरोपविरूद्ध लड्ने जिकिर अकबरले गरेका छन् ।