पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार मुद्दामा २४ वर्ष जेल सजाय

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र २३, २०७४

सिओल– दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुन–हेलाई सत्तामा रहँदा शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको ठहर गर्दै २४ वर्ष जेल सजायको फैसला सुनाइएको छ। उनलाई १८ बिलियन वोन(१२ मिलियन पाउन्ड/१७ मिलियन अमेरिकी डलर) बराबरको जरिवानासमेत तोकिएको छ।

भ्रष्टाचार तथा शक्तिको दुरुपयोग जस्ता १८ मुद्दामध्ये पार्कलाई अधिकांशमा दोषि पाइएकाे अदालतले जनाएको छ।

शुक्रबार भएको सुनुवाइमा राष्ट्रपति पार्कलाई भने अदालतमा उपस्थित गराइएको थिएन। तर सुनुवाइको राष्ट्रिय टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रशारण गरिएको थियो। आफुविरुद्धको मुद्दाको सुनुवाइमाथिको फैसला हेर्न पार्कलाई जेलमा नै व्यवस्था गरिएको थियो।

कोरियाली इतिहासमा नै पहिलो पटक भएको सो कार्यले भ्रष्टाचार नगर्न प्रेरित गर्ने बताइएको थियो। टेलिभिजनमा भएको उक्त प्रत्यक्ष प्रशारणलाई कोरियाभर चासोका साथ हेरिएको बताइएकाे छ।

राष्ट्रपति रहँदा पार्कलाई आफ्नो नजिकको साथि चोइ सुन–सिलले राज्यशक्तिको दुरुपयोग गर्न सघाएकी थिइन्। सोहि आरोपमा उनीविरुद्ध गत फेब्रुअरीमै फैसला भइसकेको छ।

सुनुवाइका क्रममा सरकारी वकिलहरुले पार्कले साथि चोइलाई राज्यको अधिकारक्षेत्र तथा सरकारी दस्ताबेजहरुको प्रयोग गर्न असिमित अधिकार दिएको दावी गरेका थिए।

राजिनामा लागि सुनुवाइ तथा सडक आन्दोलनको लामो शृंखला चर्किएपछि पार्कलाई महाअभियोग लगाएर सन् २०१७ को मार्च बर्खास्त गरिएको थियो। पदमुक्त भएको केही समयपछि नै उनलाई पक्राउ गरिएको थियो।

पार्क सन् २०१३ मा दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपतिका रुपमा सत्तामा आएकी थिइन्।