भीरमा लड्‍न लागेको सरकारलाई रामराम भन्‍ने छन्, काँध थाप्‍ने खोई ?

मिडिया डबली प्रकाशित : शुक्रबार, असार १३, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- दुई तिहाइ बहुमतको सरकारले मुलुकमा निकै ठूलो काम गर्ने, आजसम्मका राज्यसत्ताले गरेका कमजोरीहहरुलाई सुधार्ने र मुलुकको चौतर्फी विकास गर्ने आशा नेपाली जनताको थियो । सरकार गठन भएको १५ महिना बितिसकेको छ । पाँच वर्षको म्यान्डेट पाएको यो सरकारले जनताका आशाहरुमा उत्साह थप्‍ने काम त कहाँ हो कहाँ झन निराशा पार्ने काम गरेको छ ।

सरकारले एकपछि अर्को काण्ड मच्चाउँदै आएको छ । हरेक विषयमा विवाद निम्त्याएर काम गर्न सकिएन, विगतको सरकारले यस्तो गरेको थियोलगायतका कुराहरु गर्दै पन्छिने काम सरकाले गरिरहेको छ । मुलुकले करिब सात दशकपछि पाएको ऐतिहासिक अवसर गुम्‍ने खतरा बढेको छ । सरकार भीरमा लड्‍न लागेको गोरुकोजस्तै चाल भएको र यसलाई काँध थाँप्‍ने आँट पनि कसैसँग नभएको भन्दै टिप्पणी हुन थालेको छ ।

नेपालको संसद् केही समयदेखि कटुता र द्वन्द्वमा फस्दै गएको छ । सडकमा निरन्तर जनता उर्लिएका छन् । भ्रष्टाचार र अपराधमा शून्य सहनशिलताको नीति लिएको भनेको सरकारले भ्रष्टाचारी र अपराधीप्रति सहनशिल बनेको छ । विप्लवलाई जबरजर्स्ती द्वन्द्वको निम्तो दिइरहेको छ । भीरमा पुगेर लड्न लागेको गोरुलाई दायाँ र बायाँमा बस्नेले रामराम मात्र भनिरहेका छन्, तर कसैले काँध थाप्ने हिम्मत गर्न सकेका छैनन् ।

व्यवस्था बदलिए पनि अवस्था नेपालको उस्तै छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको महत्‍व सत्तामा बस्‍नेले देखाउनै सकेनन् । माल पाएर चाल पाउन नसक्दा देशको लोकतन्त्र भिल्लको देशमा मणि कौडीमा बिकेजस्तै हुने पो हो कि भन्ने आशंका बढेको छ । कलमसँग दुष्मनी र गुठीसँग वैरभाव राख्नेहरू सासूलाई ताल्चामा राख्ने बुहारीजस्तै बन्‍न पुगेका छन् । गलत काम गर्नेको मासिने र नासिने अर्को जन्म हैन, यसै जन्ममा देख्दैछन् नेपाली ।

चिकित्सा शिक्षा विधेयकमा चिकित्सा सुधारका अभियन्ताको चित्कार नसुनेर भूमाफियालाई काखी च्यापेको वाम सरकार समाजमा फेरि एकपटक गुठीको उठीमा निर्वस्त्र देखिएको छ । बुहारीको विस्तारवादमा सासू सिकार भएजस्तै जस खोज्ने सरकार भुमरीमा फसेको छ । परम् सन्तोषको अनुभूति जनतालाई सरकारले दिलाउन खोज्दा असन्तुष्टि मात्र देखियो । निर्वाचित जनप्रतिनिधि सत्ता सम्हाल्ने बित्तिकै राजाझैं व्यवहार गर्न थाल्दा हिजोको यिनै छोटे राजाको स्कुलिङमा हुर्केका र चेत भरिएका जनता फेरि पनि रैती हुन तयार भएनन् । जनतालाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर दिइएको आदेश र फर्मान प्रत्युत्पादक भइदियो ।

जनताको असन्तोषलाई जनप्रतिनिधिले सम्बोधन नगर्दाको परिणाम सडक आन्दोलन चर्किनु भनेको नेपाली जनता लोकतन्त्रको पहरेदारीमा जागा नै रहेका छन् भन्‍ने हो । मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, शिक्षा विधेयक, सूचना प्रविधि विधेयक, मानवअधिकारजस्ता अनेकौं विधेयकमा जनता खुसी हुनुपर्नेमा सबै आन्दोलित भए किन रु प्रेस विधेयकमा पत्रकारहरू विरोधमा उर्लिए, गुठी विधेयकमा सारा काठमाडौंबासी धर्मसंस्कृतिको रक्षाका लागि विधेयकको विरोधमा उर्लिए, शिक्षा संशोधनको विधेयकलाई लिएर पूर्वउपकुलपति सबै एक ठाउँमा उभिएर त्यसको विरोधमा खडा भए । मानवअधिकार विधेयकले महान्यायाधिवक्ताको अन्तर्गत राख्ने प्रयासको असन्तुष्टि स्वयं मानवअधिकार आयोगले नै देखाइदियो ।

यो सरकारले अधिकतम व्यक्तिको अधिकतम सुखमा साथ दिन सकेन । सार्वभौम सुख केलाउन सकेन । विधेयकभित्रको चरम असन्तुष्टिलाई समयमै सम्बोधन गर्न सकेन । दलालको चंगुलमा परेको वर्तमान सरकारले गुणात्मक अन्तर केलाउन आँखामा पट्टि बाँधेको छ। एकैपटक कायापलट र प्रधानमन्त्री केपीशर्मा ओलीले भनेजस्तै रेल, पानी जहाज, ग्यास पाइपलाइन, बिजुली बस र अन्य घोषणाहरु हुने कुनै जादुको छडि छैन र एकैपटक हुँदैनन् भन्‍ने पनि नेपाली जनताले राम्रोसँग बुझेका छन् । तर, ओलीले त्यही कुरा दोहोर्‍याइरहँदा कालान्तरमा पनि नहुने हो कि भन्‍ने शंका उब्जाएको छ ।

जनताले एकैपटक स्वर्गीय आनन्द पनि चाहेका होइनन् । जनताले उनीहरुको दैनिकीमा सहजता अनि लामो संघर्य र बलिदानबाट प्राप्त व्यवस्थामा कहिँकतै खतरा नहोस् भन्‍नेमात्रै चाहेका हुन् । जनतालाई न त प्रधानमन्त्री नै बन्‍नु छ, न त कुनै मन्त्री नै । तर, दैनिकी सहज हुँदा सन्तोष मान्‍ने जनताको आकांक्षा सरकारले बुझ्‍न सकेन वा चाहेन । सरकारले एकैपटक सबै क्षेत्रमा हातहालेर अगाडि बढ्न खोज्दा अहिलेको स्थिति देखा पर्‍यो । सरकार शक्तिशाली भएर पनि कमजोर महसुस गर्दैछ ।

विशाल खबरदारी सभा गरेर राजनीतिक दलभन्दा अगाडि बढेर राष्ट्रिय झन्डामुनि उभिएका जनताले भोट बैंकका नेतालाई ठूलै धक्का दिन सफल भए । दुई तिहाइ बहुमतको दम्भ लोकतन्त्रमा जनतालाई अपाच्य बन्दैछ । प्रतिपक्षी दल पनि तीनै राष्ट्रिय झण्डामुनि रहेका जनतामा ओत लाग्‍न बाध्य भयो । सरकार सञ्चालनमा जनताको भावनाविपरीत वर्तमान सरकार जान सक्दैन । सत्ताको कुर्सी सँधैका लागि ठान्‍नाले सरकारभित्रका मन्त्रीमा समेत दम्भ बढेको थियो । त्यसैले जनतासँग खेल्नु भनेको आगोसँग खेल्नु हो । पाइथागोरसको एउटा सिद्धान्त छ( आगोसँग नखेल । किनकि आगो सानै भए पनि त्यसले सारा भष्म गराउने हैसियत राख्छ ।

नेपाली जनता जाग्दै जाग्दैनन् तर जागिसकेपछि शान्त पार्न लरतरो प्रयासले सकिन्‍न । जनता जागेको बेलामा राम्रो र नराम्रोको निर्णयभन्दा पनि वर्षौदेखि व्यक्त हुन नसकेका असन्तुष्टिहरू एकमुष्ठ सडकमा बिस्कुन सुकाएझैं छरपष्ट हुनथाल्छन् । त्यो बेग थाम्न नसक्दा सरकार नै पल्टि मार्न बाध्य भएका हाम्रा विगतका उदाहरणहरु छन् । असन्तुष्टको जमात विस्तारैविस्तारै आक्रोसित बन्‍न पुग्यो भने भीडको आवाजले आँखा देख्दैन । पटकपटक अधिकार मिच्ने मिचाहालाई तह लाउने अधिकार संविधानले नै दिएको छ । आखिरमा परिणामप्रति ढिलो ज्ञान हुन्छ जुन समयमा सर्वनाश भइसकेको हुन्छ ।

त्यसैले जनताको बफादारिता अहिले समाजप्रति देखिएकाले नै दलको झन्डा आएनन् । आन्दोलनले ठूलो आकार लिइसकेको अवस्थामा सुरक्षित अवतरण सजिलै हुन सक्दैन । त्यसैले यो आन्दोलनको उठानले अबका दिनमा सरकार दम्भले चल्न सक्दैन भन्‍ने देखाएको छ । यसकारण समय नघर्किदै सरकार यी विवादित हरेक कुरामा जनताको नजर हालेर गम्भीर बन्‍न जरुरी छ ।