विद्यालयलाई ४ दिनसम्म बन्द गर्ने निर्णय

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – सामुदायिक र संस्थागत गरी सबै विद्यालयलाई आगामी चार दिनसम्म बन्द गर्ने गरी कैलालीको टीकापुर नगरपालिकाले निर्णय गरेको छ ।

अत्यधिक गर्मीका कारण अध्ययन अध्यापनमा समस्या हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ ।

टीकापुर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय प्रशासन, प्रधानाध्यापक र सरोकारवाला निकायसँग छलफल गरी जेठ ३२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले अत्यधिक गर्मीका कारण ४ दिनमा लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।

‘गर्मी अत्यधिक भएर विद्यार्थीको पठनपाठनमा समस्या हुन थालेपछि हामीले सरोकारवाला निकायसँग छलफल गरी ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौं,’ रावलले भने ।

टीकापुर नगरपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी ७२ वटा विद्यालय रहेका छन् । अत्यधिक गर्मीका कारण दिउँसोको समयमा जनजीवन प्रभावित भइरहेको छ ।