ओली सरकारविरुद्ध आन्दोलन घोषणा, जेठ १७ गतेदेखि ठप्प !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग विभिन्न माग राख्दै वैदेशिक रोजगार व्यवसायीले विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति रोक्नेदेखि लिएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टविरुद्ध आन्दोलन गर्नेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

शुक्रबार राजधानीमा वैदेशिक रोजगार व्यवसायीले समसामयिक विषयमा छलफल गर्न बोलाएको भेलामा आन्दोनका कार्यक्रम घोषणा गरेका हुन् ।

वैदेशिक रोजगार व्यवसायीहरूले जेठ १७ गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति ठप्प पार्ने घोषणा गरेका छन् । उनीहरूले मन्त्री विष्टविरुद्ध पनि आन्दोलनको घोषणा गरेका छन् ।

मन्त्री विष्ठका कारण म्यानपावरको धरौटी रकम वृद्धि भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए । भिसा प्रमाणिकरण अनलाइनबाट गर्नुपर्ने, वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज पाउनुपर्ने र पायक पर्ने बैंकमा रकम राख्न पाउनुपर्ने लगायतका माग व्यवसायीको रहेको छ ।

आफूहरूको मागमा मन्त्रालय गम्भीर नभएर कडा आन्दोलनमा उत्रिने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । ‘वैदेशिक रोजगार ऐनमा संशोधन गरेर व्यवसायीलाई तहसनहस गर्न खोजिएको छ,’ अध्यक्ष गुरुङले भने, ‘१० दिनभित्रमा हाम्रा मागहरू सुनवाइ नभए म्यानपावनरको लाइसेन्स र कामदारको पासपोर्ट श्रम मन्त्रालयमा बुझाउँछौं ।’

उनले व्यवसायीको माग सुनुवाइ नभए पार्टीभन्दा माथि उठेर मन्त्री विष्टविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । वैदेशिक रोजगारी क्षेत्रलाई श्रम मन्त्रालय, केही विचौलिय र सिण्डिकेटधारीले सिध्याउने खेलमा लागेको वैदेशिक रोजगार लोकतान्त्रिक संघ कार्यकारी अध्यक्ष सुजित श्रेष्ठले बताएका थिए ।

व्यवसायीको भेलामा बोल्न अधिकांश वक्ताले श्रम मन्त्री विष्टले रोजगार व्यवसायीलाई पन्छाएर अरु व्यवसायी भित्र्याउन लागि परेको बताएका थिए । एक वर्षदेखि बन्द मलेसियाको रोजगारी खुलाउन मन्त्री चासो नदिएर अन्यतिर स्रोत देशसँग सम्बन्ध बिग्रने काम गरिरहेको आरोप छ ।