रुपन्देहीपछि पर्सामा गोली चल्यो ! एकैदिन दुई गोलीकाण्ड

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

पर्सा – जिल्लाको जिरा भवानी गाउँपालिका–२ बलुवामा बिहीबार साँझ ७ बजे गोली चल्दा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेका छन् । उनलाई आफ्नै भाइ सेख सराजुद्दिनले गोली हानेका थिए । उनको पिँठुमा गोली लागेको प्रहरीले जनाएको छ ।

दाजु भाइबीच घरायसी विवाद हुँदा दाजु सेखलाई भाइले गोली हानेको थियो । गोली लागेको सेखको अवस्था गम्भिर रहेको नारायणी अस्पतालका कार्यरत प्रहरी हवल्दार कृष्ण गिरीले बताए ।

दाजुमाथि गोली प्रहार गर्ने भाइलाई इलाका प्रहरी कार्यलय पटेरुवा सुगौलीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ । उनको साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका सेखलाई वीरगञ्ज नारायणी अस्पतालमा उपचार हुन नसपछि थप उपचारका लागि नेसनल मेडिकल शिक्षण अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको सीमावर्ती क्षेत्र शंकरपुर नाकामा बिहीबार दिउँसो गोली चलेको थियो । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो ।

सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।