प्रहरीलाई १८ हजार घुस दिँदादिँदै रेष्टुरेन्टबाट २८ यौनकर्मी पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

काठमाडौं – राजधानी काठमाडौंको गोंगबु क्षेत्रबाट प्रहरीले २८ जना यौनकर्मीलाई पक्राउ गरेको छ ।

अनैतिक क्रियाकलाप सञ्चालन हुने गरेको भन्ने स्थानीयबाट गुनासो आएपछि प्रहरीले उक्त क्षेत्रमा रहेका खाजा घर तथा रेष्टुरेन्टबाट यौनकर्मीलाई पक्राउ गरेको हो ।

प्रहरीले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष कर्डन एण्ड सर्च अप्रेसनको क्रममा पुजा रेष्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

बिजी मल नजिक सञ्चालनमा रहेको पुजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा सो रेष्टुरेन्टमा छापा मारिएको प्रवक्ता बोगटीले बताए ।

रेष्टुरेन्टका सञ्चालक ३० वर्षीय सौगात क्षेत्रीलाई प्रहरीले सोधपुछ गर्ने क्रममा क्षत्रीले प्रहरीलाई रेष्टुरेन्ट चेकजाँच नगर्न भन्दै १८ हजार नगद घुस समेत दिएको प्रवक्ता बोगटीले बताए ।

क्षेत्रीसहित २८ जनालाई नै नियन्त्रणमा लिई थप सोधपुछ तथा अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए ।