ओली–प्रचण्डले ‘घटुवा’ गरेपछि क्रान्तिकारीका अध्यक्षले दिए कडा जवाफ, पार्टीलाई घाटा !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठकबाट जनवर्गीय संगठनको एकता टुंग्याएपछि विद्यार्थी संगठनको सहसंयोजकको जिम्मेवारी पाएका रञ्जित तामाङले आफूमाथि अन्याय भएको भन्दै जवाफ फर्काएका छन् ।

माओवादी निकट तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले विधि, पद्धति र नियम मिचेर एकता गरिएको भन्दै आपत्ति जनाए ।

पहिलो पटक निर्वाचनबाट अखिल क्रान्तिकारी अध्यक्ष भएको उल्लेख गर्दै तामाङले एकतामा न्याय हुन नसकेको बताए । ‘विद्यार्थी एकता गर्दा योग्यता क्षमतालाई नेतृत्वले पटक्कै ध्यान दिएन,’ तामाङले भने, ‘पार्टी नेतासँगको सम्बन्धलाई आधार बनाएर जिम्मेवारी तोकियो ।’

आफूमाथि भएको अन्यायले विद्यार्थी संगठनलाई मात्र नभई सिंगो पार्टीलाई राम्रो नगर्ने तामाङले बताए । विद्यार्थी संगठनको एकता गर्दा अनेरास्ववियूका महासचिव ऐन महरलाई संयोजक बनाइएको छ भने अखिल क्रान्तिकारीका अध्यक्ष तामाङलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । अध्यक्षलाई सहसंयोजकमा घटुवा र महासचिवलाई संयोजकलाई बढुवा गरेर जिम्मेवारी तोकिएको छ ।