मौसममा अझै आएन सुधार, कहिलेसम्म रहन्छ यस्तो ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

काठमाडौं – केही दिनदेखि खराब भएको मौसम अझै सुधार हुन सकेको छैन । उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ ।

पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति काठमाडौंमा मात्रै ५ दशमलव ९ मिलिमिटर पानी परेको छ । राति पानी परेको ठाउँको मौसम अहिले खुलेको छ ।

तर दिउँसोपछि काठमाडौंसहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

पश्चिममा पश्चिमी वायुको असर र मध्य तथा पूर्वमा पूर्वमा बनेको न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भई पानी पर्ने उनको अनुमान छ ।

शुक्रबारदेखि भने देशभरकै मौसममा केही सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।