सर्वाेच्चको आदेशपछि सडक सधैंका लागि बन्द

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले तिलगंगा–ताम्रगंगा सडक सधैंका लागि बन्द गरेको छ ।

२०६४ सालमा तिलगंगाबाट गुह्येश्वरीसम्मको जंगलमा खोलिएको ६ सय ७५ मिटर लामो कच्ची सडक बन्द गरिएको हो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सात वर्षअघि सवारी आवागमन नरोके पाशुपत क्षेत्रलाई विश्वसम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो ।

सर्वाेच्च अदालतले पनि युनेस्कोको मापदण्डविपरीत पाशुपत क्षेत्रमा अनधिकृत ढंगले खोलिएको उक्त सडक र संरचना हटाउन आदेश दिएको थियो ।

संयुक्त राष्ट्र संघ युनेस्को मुख्य कार्यालय पेरिसबाट ११ मे २०१२ मा पठाएको पत्रबाट सो सडक बन्द नगरे पाशुपत क्षेत्रलाई नै विश्व सम्पदाको सूचीबाट हटाउने चेतावनी दिँदै आएको थियो । उक्त तिलगंगा ताम्रगंगा सडक बन्द गर्न पुरातत्व विभाग र कोषसमेतलाई ध्यानाकर्षण गराइ पत्राचार गरेपनि बन्द गर्ने काम हुन सकेको थिएन । कोषका सदस्यसचिव डा. प्रदीप ढकालले मंगलबारदेखि तिलगंगाबाट गुहेश्वरी निस्कने सडक बन्द गरिएको जानकारी दिए ।

पाशुपत क्षेत्रको श्लेष्मान्तक वनको धार्मिक क्षेत्रलाई अतिक्रमण गरी मापदण्डविपरित सो खण्डमा सडक खुलाउने एवं निर्माण गर्ने काम भएसँगै उक्त कार्य विवादित बन्दै आएको छ । सडक बन्द गर्न पर्खाल लगाउने गरी कोषले ठेक्का लगाइसकेको ढकालको भनाइ छ । तर आवाजावतमा समस्या हुने भन्दै स्थानीय जनप्रतिनिधिले भने मंगलबारै ठेकदारलाई काम नगर्न भन्दै अवरोधको प्रयास गरेका थिए ।

गौशाला र चाबहिलमा हुने जामका कारण सास्ती पाएका सवारी साधनलाई छोटो सडक भएकाले पछिल्ला दिनमा उक्त सडकमा चाप बढेको छ । दैनिक ट्रक, टिपर र पानी बोक्ने ट्यांकर सहितका सवारी गुड्ने गरेका छन् ।

ग्राभेल समेत नबिछ्याएको सडकमा ठूला र भारी सवारी गुड्दा पाशुपत क्षेत्रका सम्पदामै जोखिम बढ्न थालेको भन्दै सम्पदा प्रेमीले पनि सडक बन्द गर्ने कोषलाई दबाब दिँदै आएका थिए ।