प्रचण्ड दिनदिनै हिँड्ने बाटो ६ दिनदेखि बन्द, सांसद नवराज सिलवालले आन्दोलन गर्ने !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिनदिनै खुमलटारस्थित निवासमा जान हिँड्ने बाटो ६ दिनदेखि बन्द गरिएको छ ।

सडक मर्मतको माग राख्दै चापागाउँका बासिन्दाले ६ दिनदेखि यातायात बन्द गरेका छन् । सडक विस्तार आयोजनाले समयमै चापागाउँ–सातदोबाटो सडकखण्ड मर्मत नगर्दा स्थानीयले धुलो, हिलो र धुवाँको समस्या खेप्दै आएका छन् ।

प्रचण्डको घरसम्म पुग्ने बाटो कालोपत्रे गरिएको र त्यसपछि जनता हिँड्ने बाटोमा बेहाल भएको भन्दै सर्वसाधारण आन्दोलित भएका छन् । ‘धुवाँ, धुलो अति भो, ठेक्का दिएको कति भो’, ‘समय हेर्‍यौं पटक–पटक, पछि हट्दैनौ हामी यो पटक’ जस्ता नारासहित चापागाउँवासीले सडक ठप्प पारेका हुन् । बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।

सडक समस्या समाधान गर्नका लागि पहल गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । ‘राज्यले समयमै मुआब्जा दिन नसकेका कारण निर्माणको काम रोकिँदा धुवाँ, धुलोको समस्या खप्नुपरेको हो,’ उनले भने् ‘नगरपालिकाले सहजीकरणको काम मात्र गर्ने हो ।’

सडक नेकपा सांसद नवराज सिलवालको क्षेत्रमा समेत गर्छ । सडक कालोपत्रे गर्नुपर्ने स्थानीयको माग छ । सडकमा परेका घर टहरा पूरै नहटाएसम्म कालोपत्र गर्न नमिल्ने सडक विभागका महानिर्देशक केशवराज शर्माले बताउँछन् । ‘घरको मुआब्जाको व्यवस्था भएपछि मात्र कालोपत्र सम्भव छ,’ उनले भने ।

सरकारले तत्काल चापागाउँ सडक मर्मत गर्ने जिम्मेवारी नलिए आन्दोलनमा उत्रने सोही क्षेत्रका सांसद नवराज सिलवालले चेतावनी दिए । जनता आन्दोलित भइसकेपछि सांसद सिलवालले आन्दोलनको चेतावनी दिएका छन् ।