अख्तियारमा गडबडी गर्दा ७८ लाख धरौटी !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा गडबडी गर्दै भ्रष्टाचार आरोप लागेका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ धरौटी तिर्नुपरेको छ ।

विशेष अदालतले उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी रकमको बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

विशेष अदालतले बुधबार नै पाठकसँग बयान लिएको थियो । नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।