प्रचण्डकी जेठी बुहारी सिर्जना त्रिपाठीले बल्ल पाइन् नेकपामा पद !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३१, २०७६

पोखरा – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जेठी बुहारी सिर्जना त्रिपाठी नेकपामा बल्ल पद पाएकी छन् ।

प्रचण्डकी कान्छी बुहारी बिना मगर खानेपानी मन्त्री भइसक्दा समेत जेठी बुहारीले बल्ल पद पाएकी हुन् । उनलाई पार्टीको जिल्ला कमिटी सदस्य मात्रै बनाइएको छ ।

प्रचण्डकी बुहारी त्रिपाठी कास्की जिल्ला कमिटी सदस्य बनेकी छन् । प्रचण्ड पुत्र प्रकाश दाहालले बिना मगरसँग विवाह गरेपछि सिर्जना छुट्टै बस्दै आएकी छन् । उनी राजनीतिमा सक्रिय छिन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि जिल्ला स्तरमा कमिटी गठन भइरहेको छ । बैशाख ८ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नामको टुंगो लगाएको थियो ।

जिल्ला तहमा पार्टी एकीकरणलाई अन्तिम रुप दिने क्रममा तत्कालीन नेकपा एमालेबाट ४४ र तत्कालीन माओवादी केन्द्रबाट ३३ जना जिल्ला अध्यक्ष भएका छन् । त्रिपाठीले जिल्ला सदस्य पदबाट सक्रिय हुँदै राजनीतिमा स्थापित हुने रणनीति लिएकी छन् । प्रचण्डकी बुहारी भएका कारण कास्कीमा त्रिपाठीलाई महत्त्वका साथ हेर्ने गरिएको छ ।