रोल्पामा अर्काे बम विस्फोट ! जहाँ मुख्यमन्त्री, त्यहाँ बम

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १७, २०७६

http://www.nepatop.com.np/

रोल्पा – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमलाई लक्षित गरी रोल्पामा मंगलबार पनि बम विस्फोट गराइएको छ ।

मुख्यमन्त्रीलाई लक्षित गरेर रोल्पामा शृंखलाबद्ध बम विष्फोट गराइएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन रोल्पा आएका मुख्यमन्त्री पोखरेललाई लक्षित गरी मंगलबार पनि विस्फोट गराइएको हो ।

रोल्पाको त्रिवेणी गाउँपालिकाको तिला बजार नजिकै बम विष्फोट गराइएको छ । सडक नजिकै जंगलमा बम विस्फोट भएको मुख्यमन्त्रीसँगै रहेका प्रदेश सांसद् दिपेन्द्रकुमार पुनले बताए ।

सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको प्रशिक्षणमा सहभागी हुन मुख्यमन्त्री पोखरेल त्यसतर्फ जान लागेको समयमा विस्फोट गराइएको थियो ।

यसअघि सोमबार पनि मुख्यमन्त्री पोखरेललाई लक्षित गरी सदरमुकाम लिबाङ नजिकै तित्रीकोटमा बम विस्फोट भएको थियो । घटनाको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ ।

भ्रमणको पहिलो दिन प्यूठानको स्वर्गद्वारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय उद्घाटनपछि रोल्पा छिरेका पोखरेललाई रोल्पाको प्रवेशद्वार सुलिचौरमा पार्टी कार्यकर्ताले स्वागत गरेका थिए ।

जिल्ला सदरमुकाम लिवाङमा निर्वाचित जनप्रतिनिधि र पार्टी कार्यकर्ताका लागि आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी भएकै बखत कार्यक्रम स्थल नजिक अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

प्रहरीले भने सामान्य पटका भएको प्रतिक्रिया दिएको छ । जनजीवन आतंकित पार्न सामान्य पटका पड्काएका हुन सक्ने एक प्रहरी अधिकारीले बताए । बलमे सर्वसाधारण त्रसित बनेका छन् ।