हृदयघातले लियो लोकप्रिय संगीतकार बिजु बज्रको ज्यान

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख १५, २०७६

काठमाडौं – संगीतकार बिजु बज्रको आईतबार हृदयघातबाट काठमाडौंको सिभिल हस्पिटलमा निधन भएको छ ।

बज्रलाई बिहान ११ एघार बजेतिर स्वास्थ्यमा अचानक गड्बडी भएपछि तत्काल सिभिल हस्पिटल पुर्याइएको र चिकित्सकहरुको प्रयास विफल भइपछि साढे १२ बजेतिर मृत घोषित गरिएको संगीतकार हरि लम्सालले बताए ।

संगीतकार लम्सालका अनुसार संगीतकार बज्रको पार्थिव शरीरलाई सोमबार बिहान ९ बजे श्रद्धाञ्जलिका लागि पशुपतिमा राखिने र श्रद्धाञ्जलि कार्यक्रमपश्चात् भोलि नै अन्त्येष्टि गरिने छ ।

बज्रको जन्म २०२८ सालमा गुल्मीको वामी टक्सारमा भएको थियो । उनका पिता जुठाराज र आमा लक्ष्मीदेवीको कोखबाट जन्मिएका उनी माहिलो सन्तान हुन् । उनले १२ सयभन्दा बढी गीतमा संगीत गरेका छन् र थुप्रै मन छुने गीत रचना गरेका छन् ।

२०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षण पास गरेपछि संगीत क्षेत्रमा व्यवसायिक रूपले लागेका थिए । सुगम पोखरेलको स्वरमा रहेको तिमी मभन्दा कोसौं टाढा छौ, कर्णदासको स्वरमा रहेको बिस्तारै छायो आँखामा अँध्यारो आगन्तुक खरेलको स्वरमा रहेको कुन रङको कमी थियो र सानु रेशमा सुनुवारको स्वरमा रहेको मै ठूली भइछु रे लगायतका गीतहरु उनका बहुचर्चित गीत मानिन्छन् ।

उनी काठमाडौंको बबरमहलमा परिवारका साथ बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी २०४८ सालमा परिवारसहित काठमाडौं आएका हुन् ।

उनलाई गत असोज ६ गतेका दिनमा एक्कासी हृदयघात भएको थियो । उनलाई स्वास्थ्य उपचारका लागि देश विदेशबाट ठूलो सहयोग प्राप्त भएको थियो । तर आईतबार भएको हृदयघातबाट भने उनी बाँच्न सकेनन् ।