ओलीको गृहजिल्लामा कांग्रेस नेता विश्वप्रकाशको वाहीवाही : देवीमायाले पाइन् नयाँ घर

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १०, २०७६

http://www.nepatop.com.np/

भद्रपुर – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई कांग्रेस नेता तथा प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको सहयोगमा स्थानीयले सहयोग जुटाएर पक्की घर बनाइदिएका छन् ।

मेचीनगर–९ मा छ लाख २० हजार रुपैयाँको लागतमा निर्मित चार कोठेघर एक कार्यक्रम गरेर हस्तान्तरण गरिएको हो ।

विद्यालय जाने उमेरकी ठूली छोरी र काखमा हुर्किंदै गरेकी सानी छोरीलाई लिएर आफ्ना लागि बनाइएको नयाँ घरमा प्रवेश गर्न पाउँदा देवीमायाले खुशीका आँशु झारेकी थिइन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरीद गरी प्रदान गरेको सात धुर जग्गामा टिनको छानो र इँट्टाको पर्खाल भएको चारकोठे पक्की भवन बनाइएको छ ।

देवीमाया शारीरिक असक्त छिन् । उनको एउटा हात बिहेअघि नै करेन्ट लागेका कारण काटेर फाल्नुपरेको थियो ।

बच्चा स्याहार्ने, खाना पकाउने, लुगा धुनेलगायत सबै काम उनले एउटै हातले गर्छिन् । उक्त भवनमा भान्छाका सबै सामान, काठको पलङ, भाडाकुडा, सौर्य उपकरण, बिजुली पङ्खा, सिसाको झ्याल, सिमेन्टको भुइँ, टायल बिछ्याइएको शौचालय, धारालगायतको व्यवस्था गरिएको घर निर्माण समितिका सचिव टिकाराम मग्रातीले बताए ।

देवीमायाको नाजुक अवस्था सार्वजनिक भएपछि दुई महिनाअघि स्थानीयवासीले विजय डालमियाको संयोजकत्वमा घर निर्माण सहयोग समिति गठन गरेका थिए । समितिले देशविदेशका नेपालीबाट स्वस्फूर्तः जुटेको सहयोगबाट घर निर्माण गर्नाका साथै आगामी दिन देवीमायाको जीवन निर्वाहका लागि पाँच लाख रुपैयाँ कोषमा राखिदिने योजना बनाइएको उनको भनाइ थियो ।

गृहप्रवेश कार्यक्रममा बोल्दै जग्गादाता शर्माले देवीको घर, घरमात्र नभएर मन्दिर बनेजस्तो अनुभूति भएको बताए । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारले गर्न नसकेको काम स्थानीय आफैंले गरेर देखाइदिएको बताए ।