आँधीमा परी ३५ जनाको मृत्यु, ४० घाइते

मिडिया डबली प्रकाशित : बुधबार, बैशाख ४, २०७६

काठमाडौं – भारत आँधीवेहरीको चपेटामा परेको छ । भारतका आठ राज्यमा आएको आँधीमा परी ३५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

मंगलबार देशभर अचानक बिग्रिएको मौसमले गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमांचल, हरियाणा र नयाँदिल्लीमा वर्षा, आँधी र चट्याङ परेर ठूलो संख्यामा जनधनको क्षति भएको हो ।

ज्यान गुमाउनेमा धेरैजसो गुजरात, राजस्थान र मध्यप्रदेशका हुन् । त्यहाँ २८ जनाको मृत्यु भएको थियो ।

वर्षाका कारण ती राज्यमा तापक्रम ४० डिग्रीभन्दा कम भएको छ । मौसम विभागले बुधबार र बिहीबार पनि मौसम यत्तिकै बिग्रिने बताएको छ ।

मौसम विभागका महानिर्देशक केजे रमेशका अनुसार पाकिस्तानबाट आएको पश्चिमी विक्षोभका कारण मौसम थप बिग्रिएको हो ।