हेलिकप्टर दुर्घटनामा योगेश भट्टराईले शंका गरेपछि आउन थाले झनै शंकास्पद प्रतिक्रिया

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन १५, २०७५

http://www.nepatop.com.np/

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्रीको निधन भएको विषय सवाल उठाएपछि जनतामा गम्भीर शंका उब्जिएको छ ।

फेसबुक पेजमा भट्टराईले मन्त्री रविन्द्र अधिकारीको मृत्यु हुने गरी भएको दुर्घटनाका सम्बन्धमा प्रश्न उठाएका छन् । उनले उठाएको प्रश्नमा प्रतिक्रिया जनाउँदै केही व्यक्तिले झनै गम्भीर प्रश्न उठाएका छन् ।

नेता भट्टराईले त्यस क्षेत्रमा सानो हेलिकप्टरमा ५ जनाभन्दा बढी यात्रु राख्न नमिल्नेमा बुधबार दुर्घटना भएको हेलिकप्टरमा ७ जना किन राखियो भन्दै प्रश्न उठाएका थिए । उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘भीआइपी उडानमा पाइलटसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरूले । तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

नेता भट्टराईले उत्तर माग्दै लेखेको स्टेटसमा प्रतिक्रिया जनाउने व्यक्तिले झनै गम्भीर शंका गरेका छन् । विशाल पाण्डेय नामबाट गरिएको कमेन्टमा लेखिएको छ, ‘ड्राइभर अमर लामाको मृत्युसँगै मदन भण्डारीको घटना रहस्यमय बन्यो । त्यस्तै खर्बाैं रुपैयाँ वाइडबडी घोटाला काण्ड रहस्यमय बनाउनलाई मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टरलाई गिराएर अर्को दासढुंगा रचिएको त होइन ? यतिबेला जनतालाई शंका लागिरहेको छ । मन्त्री लगायत दुर्घटनामा परी मृत्यु हुने सबैलाई हार्दिक श्रद्धाञ्जली ।’

नेता भट्टराईको स्टेटसमा अन्य फेसबुक प्रयोगकर्ताले समेत आशंका मिश्रित प्रतिक्रिया जनाएका छन् ।