कांग्रेस नेता पुगे दशैं मान्न माझी बस्तीमा, कम्युनिस्ट नेता रमाए महलमा

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, कार्तिक ३, २०७५

काठमाडौं – कम्युनिस्ट नेताहरू दशैं मनाउन राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री निवाससम्म पुगिरहेका बेला एक जना कांग्रेस नेता दशैं मान्न माझी बस्ती पुगेका छन् ।

कम्युनिस्ट सत्तामा पुगेकाले नेताहरू सत्ताकै वरिपरि रमाइरहेका बेला कांग्रेस नेता चन्द्र चण्डारी गरीबलाई सम्झिँदै दशैं मनाउन माझी बस्तीमा पुगेका हुन् । पछिल्ला तीन वर्षदेखि नेता भण्डारीको दशैं गुल्मीको बढीगाड नदीको आसपासमा बस्ने बोटे, माझी र कुमाल बस्तीमा हुने गरेको छ । दशैंको अवसरमा उनले शुक्रवार मात्र ५ सय ५५ विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) र स्टेसनरी सामान बाँडेका छन् ।

दशैंको टीकाको साइतमा उनी गुल्मीको रुरु गाउँपालिकाको लक्ष्मी निमावि र आटिपाटा प्राविमा रहेका बोटे माझीको बस्तीमा पुगेका थिए । छत्रकोट गाउँपालिकाको झेर्दी निवावि तथा चन्द्रकोट गाउँपालिकाको ज्ञानोदव मावि र बाल उद्यान प्राविका विद्यार्थीलाई भण्डारीले कपडा र स्टेसनरी सामग्री बाँडे ।

दरवार देवीस्थान गाउँपालिकाको नरहरी मावि तथा माझी प्राविका बालबालिकालाई लुगा र स्टेसनरी सामान बाँड्दै माझी बस्तीमै उनले टीका लगाए ।

‘नेपाल नमूना देश हुन्थ्यो, नेपालका नेताहरूले जे गर्दा पनि सिकेनन्, न जेल थुन्दा सिक्छन् न सत्तामा पुग्दा,’ भण्डारीले भने, ‘वरिपरि गरीब राखेर ठूलो महलमा बस्न रुचाउने नेताहरूबाट देश बन्दैन ।’

२०७० सालमा गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव जितेपछि भण्डारीले २०७३ सालदेखि माझी बस्तीमा दशैं मनाउन शुरू गरेका थिए । उनले आफ्नो तलब र भत्ता बोटे माझीका छोराछोरी पढाउनमा खर्च गर्ने बताएका थिए ।

‘आफन्तको हातबाट टीका लगाउन जान भ्याइन, माझी बस्तीमै रमाएँ,’ भण्डारीले भने, ‘दशैंमा गाउँमा जाने प्रत्येक परिवारले १ जना विद्यार्थीलाई शैक्षिक सामग्री लगिदिए मात्र पनि ५ वर्षमा गाँउमा आमूल परिवर्तन हुन्थ्यो ।’

कांग्रेस नेता भण्डारीले माझीका बालबालिका र महिलालाई टीका लगाएर जनही ५० रुपैयाँ दक्षिणा दिएका थिए । साथीभाइसँग चन्दा उठाएर भण्डारीले माझी बस्तीका महिलालाई समेत कपडा बाँडेका थिए ।

‘अवसर पाएमा यही माझी बस्तीमा कोही अब्दुल कलाम (वैज्ञानिक तथा पूर्वभारतीय राष्ट्रपति) जन्मिन सक्छ,’ भण्डारीले भने, ‘माझी बस्तीमा दशैं मनाउने कार्यक्रमलाई मैले नमूना कार्यक्रम बनाउन खोजेको छु ।’

कांग्रेस नेता चन्द्र भण्डारी सर्वहारा राजनीतिका लागि प्रेरणाका स्रोत बनेका छन् । कम्युनिस्टले सर्वहाराको नारा दिने गरेपनि अहिले सत्ताको स्वादमा रमाइरहेका छन् ।