भर्खरै गरियो जनतामारा निर्णय, दशैंको मुखमा सरकारले बढायो १० प्रतिशत यातायात भाडा

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, अशोज ६, २०७५

काठमाडौं – केही दिनअघि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले दशैंतिहारको मुखमा सार्वजनिक यातायातको भाडादर बढाएको छ ।

सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने निर्णय गरेको छ । यातायात व्यवसायीको माग पूरा गर्न भन्दै सरकारले दशैंको मुखमा १० प्रतिशत भाडा बढाउने निर्णय गरेको हो ।

यातायात व्यवसायीले बढाएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन माग गरिरहेका बेला सरकारले भने जनतालाई अप्ठ्यारोमा पार्ने गरी भाडा बढाएको हो । भाडा बढेसँगै दशैंको मुखमा सर्वसाधारण मारमा पर्ने भएका छन् ।

एकातिर पेट्रोलियम पदार्थको मूल्यबृद्धिको मार खेपिरहेका सर्वसाधारणले भाडाबृद्धिको मार समेत खेप्नुपर्ने भएको छ ।

यातायात व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो ।

हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

शनिवार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।

समयसापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ । वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खाताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरू भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

सिण्डिकेट कायम गरेको भन्दै सरकारले २ सय ४५ समितिको बैंक खाता रोक्का गरेको थियो । शनिवारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।

सरकारले जताबाट पनि जनतालाई नै मारमा पार्ने निर्णय गरिरहेको छ । कम्युनिस्ट पार्टीले चुनावका बेला जनतालाई राहत दिने भनेपनि अहिले महंगी दिइरहेको छ ।