प्रचण्डकी छोरी रेणु दाहालको यस्तो कर्तुत, जनतालाई नाक थुन्नुपर्ने बाध्यता

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, अशोज ३, २०७५

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल भरतपुर महानगरपालिकामा प्रमुख (मेयर) छिन् ।

सर्वसाधारण जनताले उनको नेतृत्वमा महानगरपालिकामा सुधार हुने अपेक्षासहित जिताएका थिए । तर, व्यवहारमा अपेक्षा पूरा भएको देखिएको छैन । बरु उनका क्रियाकलापका कारण मतदाताले नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।
उनले नेतृत्व गरेको भरतपुर महानगरपालिकाले अस्पतालबाट निस्किएको फोहोर नारायणी नदी किनारमा फाल्ने गरेको छ । महानगरपालिको फोहोरसँगै अस्पतालबाट निस्कने फोहोर पनि नदी किनारामा फाल्ने गरिएको छ ।

महानगरपालिका–३ को नगरवन छेउबाट नदी किनारामा फोहोर फाल्ने गरिएको हो । यसअघि महानगरले फोहोर थुपारेको स्थानबाट नै अहिले नारायणीको एक भंगालो बगिरहेको देख्न सकिन्छ । अहिले वर्षका कारण नदीको बल्लो भंगालो छेउमा लगेर दैनिक फोहर फाल्ने गरिएको छ ।

फोहोरको सही व्यवस्थापन नहुँदा नदी मात्रै होइन, महानगर क्षेत्र नै दुर्गन्धित भएको छ । स्थानीयका अनुसार अस्पतालजन्य फोहरका रुपमा क्युरेट गरिएका अन्य कारणले मरेका बच्चादेखि सालनाल, काटिएका मानव अंग, धारिला ब्लेड, प्याड लगायतका सामाग्रीहरूसमेत नदी किनारमा फाल्ने गरिएको छ ।

क्यान्सर अस्पताल बाहेकका चितवनका मेडिकल कलेज, सरकारी अस्पताल र निजी अस्पतालले दैनिक एक टन अस्पतालजन्य फोहोर उत्सर्जन गर्ने गरेका छन् । ती फोहोरलाई पनि महानगरपालिकाले अन्य फोहर जस्तैं गरी नदी किनारमा फाल्ने गरेको छ । भरतपुर महानगरमा दैंनिक ६५ टन फोहर निस्कन्छ । महानगरले अन्यत्र फोहर फाल्ने स्थान नै नभएका कारण नदी किनारमा फोहर फाल्नु वाध्यता भएको जनाउँदै आएको छ ।

धार्मिक हिसावले समेत पवित्र मानिएको नारायणी नदीमा बाध्यता भन्दैं फोहोर फाल्दैं आएको वर्षौ बितेको छ । तर, भरपर्दो विकल्पमा महानगरपालिका जान सकेको छैन । बल्ल महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि भन्दैं एक कोरियन संस्थासँग गत बिहीबार गुरूयोजना बनाउने सम्झौता गरेको छ ।

सम्झौता अनुसार गुरूयोजना बन्न १५ महिना अझैं लाग्ने छ । गुरूयोजना आएपछि व्यवस्थापनको लागि प्लान्ट निर्माण गर्न न्यूनत्तम २ देखि ३ वर्ष लाग्ने छ । यसको अर्थ अझैं झण्डै ४ वर्ष जति महानगरपालिकाले नारायणी नदी किनारमा नै शहरको फोहर लगेर थुपार्ने छ ।

नारायणी नदी किनारका जंगल बन्यजन्तुहरु विचरण गर्ने गर्दछन् । यहाँ दुर्लभ मानिएको एक सिङे गैंडा आउने गर्दछ । वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले महानगरले फोहर फाल्ने नगरवनको क्षेत्र वरपर गैंडा लगायतका जंगली जनावरहरू आउने गरेको बताए ।

‘एकदिन त मेरो वडा कार्यालयमा नै आयो, यता डुलिरहन्छन्,’ वडाध्यक्ष पण्डितले भने, ‘पक्कै पनि महानगरले फालेको फोहोरले ती जनावरलाई असर गरेको छ ।’ भरतपुर महानगरको फोहर फाल्ने भन्दैं ल्याण्डफिल्ड साइट बनाउने चर्चा हुन थालेकै एक दशकभन्दा बढी भयो तर अझैंसम्म ठोस काम अघि बढेको देखिँदैन ।

सरकारले भरतपुर महानगरपालिका वडा नम्बर ११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दैं जग्गा दिने निर्णय २०६८ सालमा नै गरेको हो । भरतपुरमा ल्यान्डफिल साइट बनाउन महानगरले करीव १५ बिघा जमिन पाएको छ । वनको जग्गामा भएका रुखहरूको फडानी गरी ल्याण्डफिल्ड साइट बनाउनुपर्ने र त्यसको स्थानमा वनको जग्गा सट्टा भर्ना गर्नुपर्ने व्यवस्था छ ।

जग्गाको खोजीमा नै महानगरपालिका भौतारीयो । बल्लबल्ल माडीको अमिलियामा जग्गा खरिद गरेको तत्कालिन भरतपुर उपमहानगरपालिका जग्गा खरिदको विषयमा विवादमा फस्यो । जग्गा खरिदमा बिचौलिया घुसाएर लाखौं रकम हिनामिना गरेको आरोप तत्कालीन कार्यकारी अधिकृत नारायण सापकोटालाई लाग्यो । न त अमिलियामा वृक्षरोपणको काम नै भयो, न त ल्याण्डफिल साइटको गुरूयोजना नै बन्यो ।

अहिले महानगर र निजी क्षेत्रको तत्परतामा भरतपुरको फोहोर संकलन गर्ने र नदी किनारमा थुपार्ने काम हुन्छ । भरतपुर महानगरको फोहर महानगरपालिका र महानगरले ठेक्कामा लगाएको निजी क्षेत्र मिलेर उठाउने गरेका छन् ।

महानगरको वडा नम्बर १ देखि ५ सम्म र वडा नम्बर ७ देखि १२ नम्बर वडासम्मको फोहर निजी क्षेत्रले संकलन गरी नदी किनारमा फाल्ने गरेको छ । वडा नम्बर १ देखि ७ सम्म ग्रीन नेपाल सिटी वेष्ट म्यानेजमेण्ट र ८ देखि १२ सम्मको वेष्ट म्यानेजमेण्ट कम्पनीले फोहोर उठाउँदै आएका छन् ।

वडा नम्बर ६ नम्बर र १३ देखि २९ नम्बर वडासम्मको फोहोर महानगर आफैंले व्यवस्थापन गर्छ भनिएको छ । तर, वडा नम्बर २७, २८ र २९ मा अहिलेसम्म महानगर फोहर उठाउन पुगेको छैन । महानगरले वडा नम्बर १३ देखि २६ सम्मका वडामा पाक्षिक वा मासिक रूपमा नकुहिने फोहर उठाउने गर्दछ ।

महानगरले फोहोर उठाउने तथा व्यवस्थापनका लागि वार्षिक एक करोड १५ लाख जति रकम खर्च गर्दै आएको इन्जिनियर बिराट घिमिरेले बताए । निजी क्षेत्रले घर घरमा पुगेर फोहरको शुल्क लिन्छ । उसले महिनाको १७ लाख रुपैयाँसम्म जनतासँग उठाउँछ । यसको ३० प्रतिशत रकम टोल विकास संस्थाले पाउँछन् ।

निजी क्षेत्रकोे फोहर उठाउने कम्पनीले पैसा अपुग भयो भनेर महानगरपालिकासँग मासिक ५ लाख रुपैयाँ थप लिने गरेको छ । फोहोर ओसार्न निजी क्षेत्रका १९ वटा साधन प्रयोग हुँदै आएका छन् ।

महानगरका ४ वटा ट्याक्टर छन् । भरपर्दो र स्थायी ल्यान्डफिल साइट नबन्दासम्म यसरी नै फोहर फाल्नुपर्ने बाध्यता महानगरपालिकाको रहेको वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले बताए ।