बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, साउन ३, २०७५

काठमाडौं – तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो।

असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । नेकपा नियमावली परिमार्जन कार्यादलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाकिएको थियो । अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो । सो बैठकले पार्टीको नियमावली तथा विधान पारित गर्ने निर्णय गर्यो।

गत महिना सत्तासीन नेकपाका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निवासमै भए । सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होइन । यसअघि पनि सरकारको नेतृत्व गरेका दलले यही ठाउँलाई पार्टी बैठकस्थलका रुपमा प्रयोग गरेका थिए ।

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि पहिलोपटक २०४८ मा नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र आफ्नो गुटका बैठक सरकारी निवास बालुवाटारमा बोलाउन सुरु गरेका थिए ।

त्यसपछि बालुबाटारलाई दलीय बैठक स्थलका रुपमा प्रयोग गर्ने क्रमले निरन्तरता पाएको छ । कोइराला त्यतिबेला पार्टी सभापति नभए पनि उनले आफ्नो समूहको बैठक प्रधानमन्त्रीका नाताले बालुवाटारमा डाक्ने गरेका थिए । उनले पार्टीका दुई गुट छत्तीसे र चौहत्तरेमध्ये आफ्नो पक्षको चौहत्तरे समूहको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पटकपटक आयोजना गरेका थिए । त्यसपछि सत्तामा सत्ताको नेतृत्व गरेका कांग्रेस, कम्युनिस्टलगायत दलले यसलाई संस्कारकै रुपमा विकास गर्दै आएका छन् । यो संस्कृतिलाई वमपन्थी दलले समेत पछ्याउँदै आएको नेकपाले बालुवाटारमा पछिल्लो महिना आयोजना गरेका बैठकबाट प्रस्ट भएको छ।

नागरिक दैनिकबाट