अमेरिकी राष्ट्रपति एक्सनमा उत्रेपछि ठाउँको ठाउँ १८ नेपाली पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार ७, २०७५

अमेरीका – अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाप्रवासी कामदार विरुद्ध अख्तियार गरेकाे नीतिका कारण १८ नेपालीसहित ५२ दक्षिण एशियाली देशका नागरिक पक्राउ परेका छन्।

ट्रम्प प्रशासनले आप्रवासी नियम कडा नियम बनाएपछि अवैध रुपमा अमेरिका बस्दै आएकाहरुलार्इ त्यहाकाे प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ परेकासबैलार्इ अमेरिकन प्रहरीले ओरेगनको कारागारमा राखेको अधिकारवादी संघसंस्थाहरुले जनाएका छन् ।

मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ ।

एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन (एपिएनअाे) संस्थाले स्थानीय संचारमाध्यमलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाँच चीनियाँ र ३० जना मध्ये–अमेरिकी देशहरुका आप्रवासी रहेका छन् ।

एपिएनओले एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएकालाई एक्लाएक्लै राखिएको र उनीहरुलाई कानूनी अधिकारबाट बञ्चित गरिएको जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुलाई अनुवादकसँग सिमित पहुँच दिइएको र अहिलेको व्यवस्था अनुसार उनीहरुमाथि दुर्व्यवहारसमेत हुनसक्ने अवस्था भएको एपिएनओले जानकारी दिएको छ ।

चार दिनअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको थियो ।

त्यसमा रहेकी सांसद सुजन बोनामिचिले तारबारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र त्यहाँस्थित आप्रवासीहरुसँग आफूले कुराकानी गरेको बताएकी छिन् ।

उनका अनुसार पक्राउ गरिएकाहरुले आफ्नो देशमा हिंसा वा गलत रुपमा कारवाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए ।

उनले त्यहाँ रहेका नेपाली बन्दीहरुसँग पनि आफूहरुले कुराकानी गरेको उल्लेख गरेकी छिन् ।

वासिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपाली दूतावाससँग कुनै पनि जानकारी नभएको बीबीसीलाई बताए ।

ट्रम्पले गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलता नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाई गरिएको छ । बीबीसीकाे सहयाेगमा