प्रचण्डलाई काउन्टर दिँदै गोपाल किराँतीले ब्युताए माओवादी, यस्ता छन अनौठा नियम

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड एण्ड कम्पनी एमालेमा विलय भएको भन्दै नेता गोपाल किराँतीले माओवादी पार्टी ब्युताएका छन्। पार्टी एकताको विरोध गर्दा प्रचण्डले उनलाई तत्कालिन नेकपा माओवादी केन्द्रबाट निष्काशन गरेका थिए। तर, प्रचण्ड अहिले एमालेमा मिसिएपछि किराँतीले पार्टी व्युताएका हुन्।

यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक मंगलबार राजधानीमा सम्पन्न भयो । बैठकमा राजनीतिक प्रतिवेदन र विधान प्रस्तुत गरिएको छ र नेताहरुसँग छलफल चलाइएको छ । अब माओवादी केन्द्रको नेतृत्व गोपाल किँरातीले निरन्तरता दिने भएका छन् । त्यस्तै पार्टीको उपाध्यक्षमा भाविसोर पराजुली छन् । बैठकले महाधिवेशनसम्म गोपाल किरातीको नेतृत्वमा २ उपाध्यक्ष, १ महासचिव र १ सचिव गरि ५ पदाधिकारी तोकेर पार्टीलाई अगाडी बढाउने निर्णय गरेको छ।

बैठकले प्रचण्ड कम्पनीले माओवादी केन्द्र छाडेको भन्दै निरन्तर माओवादी केन्द्रलाई अगाडी  बढाउन नयाँ नेताहरुलाई जिम्मेवारी दिइएको बताइएको छ । माओवादी केन्द्रले रुपान्तरण सहितको केन्द्रीय समिति बनाउने अन्तिम तयारी गरिएको र माओवादी केन्द्र नछाड्ने चाहना भएका नेताहरुलाई थप्दै केहि दिनमै नाम सार्वजनिक गरिने जनाएको छ ।

बैठकले यस अघि प्रचण्डको नेतृत्वमा रहेका माओवादीका नेताहरुलाई एक तह बढुवा गर्दै माओवादी केन्द्रलाई रुपान्तरण सहित ब्यबस्थित पार्टी बनाएर अघि बढ्ने निर्णय लिएको छ । बैठकले पार्टी अध्यक्ष प्रधानमन्त्री तथा मन्त्री बन्न नपाउने महत्वपूर्ण निर्णय समेत गरेको जनाएको छ ।