देश बर्बाद पार्न खोजेको भन्दै ओलीविरुद्ध घनश्याम भुसाल आक्रामक, प्रचण्डलाई पनि छोडेनन्

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले विदेशीसँग अनुदान मागेर रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना कडा शब्दमा विरोध गरेका छन्।

ओलीका तर्फबाट केही दिनअगाडि नेकपाका नेता एवं परराष्ट्रविद राजन भट्टराईले नेपाल आफैले पुँजी लगानी गर्न नसक्ने र चीनले अनुदान दिएमात्रै काठमाडौंमा रेल आउने कुरा प्रधानमन्त्रीले बताइसकेको उल्लेख गरेका थिए। उनका अनुसार चीनले अनुदान दिएन भने काठमाडौं रेल आउँदैन् । चीनको अनुदानमा रेल ल्याउन ओलीको आसन्न चीन भ्रमणको एजेण्डा नै रहेको जानकारी भट्टराईले दिएका थिए।

तर, ओलीको उक्त तयारीप्रति नेता भुसालले असन्तुष्टि जनाएका हुन । भुसालले विदेशीको अनुदान सहयोगले मात्रै राष्ट्र समृद्ध बन्न नसक्ने पनि स्पष्ट पारे। अहिलेसम्म चीनसँग नेपालको सम्बन्ध समस्यारहित रहेको भन्दै उनले भने, ‘चीनबाट पुल मागेर, हाइड्रो, रेल मागेर हामी धनी हुदैनौं, रेलमा त हामी नै हिँड्ने होला नी ।’

भुसालले अगाडि थपे, ‘अनुदानले देश बन्दैन, अनुदानमा केके सर्त हुन्छन्, बरु ऋण ठीक हो, देशले पचाउन सक्ने सामर्थ्य भए ऋणले राष्ट्र डुब्दैन ।’ ऋण ल्याएर भत्ता बाँड्ने, भ्रष्टाचार गर्ने काम भए मुलुक बर्बाद हुने उनको चेतावनी छ।

यसअघि नेता भीम रावलले पनि रेल र पानी जहाज देशकाे हितमा नरहेकाे बताएका थिए। उनले सीमानामा रेल चलाउने र काेशीमा एक थान जहाज चलाएर देशलार्इ फाइदा नहुने जिकिर गरेका थिए।

प्रचण्डलाई दिए काउन्टर

नेता भुसालले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी राष्ट्रपतिको असान्दर्भिक कुरा गरेको भन्दै आलोचना समेत गरे। बुधबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘अहिले संविधान कार्यान्वयन गर्ने बेला हो, पहिला यसलाई कार्यान्वयन गरौं यदि भएन भने त्यतिबेला गरौंला । यसलाई कसले रोकेको छ र, उहाँ नै अध्यक्ष हुनुहुन्छ ।’

कार्यकारी राष्ट्रपतिबारे भित्री सहमति भएको हो भन्ने प्रश्नमा भुसालले कुनै सहमति नभएको बताउँदै भने, ‘जे हुन्छ सहमति मै हुन्छ ।’

अध्यक्ष प्रचण्डले अहिलेको शासकीय प्रणालीले चुनाव खर्च बढाएकाले अब कार्यकारी राष्ट्रपतिमा जानुपर्ने बताउँदै आएका छन् । यसबारे दलहरुबीच आन्तरिक सहमति भइसकेको दावी पनि उनले गर्दै आएका छन् ।