मोदी मोह जनकपुर र मुक्तिनाथमा भारतीयको लश्कर!

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ १३, २०७५

काठमाण्डौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसँगै भारतीय पर्यटकहरू नेपाल आउने क्रम बढेको छ । विशेष गरेर मोदीले जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरेपछि त्यसको महत्व भारतमा अत्याधिक भएको हो ।

मोदीले जानकी मन्दिरमा पूजा गरेको जानकारी पाएपछि भारतीय पर्यटकहरू जनकपुरधाममा ओइरिएका छन् । भारतीय पर्यटकहरू धेरै आएपछि होटेल, लज र धर्मशालामा बस्न समेत अपर्याप्त भएको स्थानीयले बताएका छन् ।

नेपालका धार्मिकस्थलको भ्रमणमा मोदीले देखाएको रुचिले भारतीय पर्यटकलाई पनि ती स्थानमा जान हौसला मिलेको हो । मोदीले अघोषित रुपमा मुक्तिनाथ, जानकी मन्दिर र पशुपतिनाथ मन्दिरमा आएर दर्शन गर्न भारतका जनतालाई निम्तो दिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल बनाउन सबै तयारी गरेका थिए । यो भ्रमणले ओली र मोदीबीच बिग्रिएको सम्बन्धलाई सुधार गर्नुका साथै असमझदारीहरू हटाइदिएको थियो । ओली स्वयंले पनि यो विषयलाई स्पष्ट पारिसकेका छन् ।