माओबादीमा मच्चियो खैलाबैला खुमलटारमा आकस्मिक बैठक!

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ १०, २०७५

धरान । एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीमा विधि र प्रक्रियाविना केन्द्रीय सदस्य छनौट गरिएको भन्दै तत्कालीन माओवादी केन्द्रका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

जनयुद्धकालमा पार्टीलाई योगदान पुर्याएका नेताहरु पनि केन्द्रीय सदस्यमा नसमेटिएपछि नेता, कार्यकर्ताहरूमा चरम असन्तुष्टी देखिएको हो । असन्तुष्टि र पत्र आएपछि प्रचण्डले बिहीबार आफू निकटका नेताहरूसँग परामर्श समेत गरेका छ ।

एकतापछिको केन्द्रीय सदस्य छनौटप्रतिको असन्तुष्टी एवं आक्रोशलाई तत्कालीन माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् ।

प्रदेश नं १ बाट जनयुद्धको बेलासमेत पार्टीको जिम्मेवारी सम्हालेका पोलिटब्युरो सदस्यहरु मुक्साहाङ मेन्याङबो, डम्बर सुवेदी, श्रीप्रसाद जगेवुजस्ता नेता केन्द्रीय सदस्यमा समेटिएका छैनन् ।

कतिपय नेताहरुको नाम सिफारिस गरिएर पनि अन्तिम नामावली चयन गर्दा काटिएपछि चाकडी, चाप्लुसी गर्नेहरु प्राथमिकतामा परेको भन्दै असन्तुष्टी पोखिरहेका छन् ।

तत्कालीन माओवादी केन्द्रका पूर्वपोलिटब्युरोहरुको बैठक बसेर केन्द्रीय सदस्य छनौटको विधि र प्रक्रिया पारदर्शी नभएको भन्दै असहमति जनाउने निर्णयसमेत भएको छ ।

तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्रीप्रसाद जवेगुले पार्टी एकताको महान अवसरमा आफूलाई जिम्मेवारीविहिन बनाएर जिन्दगीकै सर्वाधिक अपमान र अन्याय गरेको भन्दै फेसबुकमा असन्तुष्टि पोखेका छन् ।

उनले आफूलाई विश्रामको अवसर दिएकोमा पूर्व नेकपा माओवादी पार्टीलाई धन्यवाद भन्दै सांकेतिकरुपमा ब्यंग्यसमेत गरेका छन् । प्रदेश नं १ का प्रदेशसभा सांसदसमेत रहेकी नेतृ उमिता बराइलीले केन्द्रीय सदस्य छनौटप्रति टिप्पणी गर्दै लेखेकी छिन्, ‘चाप्लुसी र चाकडीको पराकाष्ठ नेकपाको केन्द्रीय सदस्य मनोनित प्रक्रिया ।’

 

यस्तै, तत्कालीन माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिका सदस्य अइन्द्रबिक्रम बेघाले पनि केन्द्रीय सदस्य मनोनयनप्रति असन्तुष्टि व्यक्त गर्दै गाठी र जिलीको भेउ नपाएको भनी फेसबुकमा टिप्पणी गरेका छन् । ‘अचम्म पनि कस्तो भने नि तीन छक्क पर्नुपरियो । कता हो जिली कता हो गाठी ? सन्दर्भ, नेकपाको के.स. नियुक्ति !’ उनले लेखेका छन् ।