कम्युनिस्ट सरकारले संसदको गरिमामाथि गम्भीर प्रहार

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ १०, २०७५

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिले सरकारका तर्फबाट संसदमा पेश गरिएको नीति तथा कार्यक्रमको भाषाप्रति असहमति जनाएको छ ।

सोमबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पढेर प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई अपमानजनक पदावली प्रयोग भएको कांग्रेसले ठहर गरेको छ ।

कांग्रेसले सरकारका तर्फबाट तयार पारिएको नीति तथा कार्यक्रमको भाषाका विरुद्ध मंगलबार संसद सचिवालय सिंहदरबारमा संशोधन प्रस्ताव नै दर्ता गराएको छ ।

यसअघि राष्ट्रपतिद्वारा संसदमा पेस गरिएका सबै नीति तथा कार्यक्रमहरूमा सभामुख र अध्यक्षलाई ‘सम्माननीय’ भनेर सम्बोधन गर्ने गरिएको थियो । तर, सोमबारको नीति तथा कार्यक्रममा सम्माननीय पदावली हटाइएको थियो । सरकारले जानीजानी राष्ट्रपति भण्डारीलाई विवादमा तानेको आरोप लगाएको छ ।

‘सम्बोधनको विभिन्न ठाउँमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरिएकोमा त्यसलाई संशोधन गरी नेपालको संविधानको व्यवस्था, मर्म र भावना, प्रचलित परम्परा अनुरुप सम्मानजक पदावली प्रयोग गरिनुपर्छ’, कांग्रेसद्वारा दर्ता गरिएको संशोधन प्रस्तावमा भनिएको छ ।

नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालसहित १७ जना सांसदले हस्ताक्षर गरेर अपमानजनक शव्दावलीविरुद्ध संशोधन दर्ता गराएका हुन् ।

कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान कम्युनिस्ट सरकारले संसदको गरिमामाथि गम्भीर रुपमा प्रहार गरेको आरोप लगाए ।

‘संसदीय मूल्य र मान्यता विपरित सरकारको नीति तथा कार्यक्रमको शव्दावली स्वीकार्य छैन’, उनले भने, ‘अरु विषयमा कांग्रेसलाई भन्नु केही छैन । तर, राष्ट्रपति र संसदबीच विभेद ल्याउने गरेर कम्युनिस्ट सरकारले काम गरेको छ । कांग्रेसले मान्दैन ।’ कांग्रेसले यस विषयमा आवश्यक परे संसद अवरोधसम्मको रणनीति बनाएको छ ।

कांग्रेसले नीति तथा कार्यक्रममा रहेको पदावली अपमानजनक रहेको भन्दै सोमबार नै प्रधानमन्त्री केपी ओलीसँग आपत्ति जनाएको थियो । तर, सो विषयमा प्रधानमन्त्री ओलीले सुन्न पनि नचाहेको कांग्रेसका एक नेताले बताए ।