मेरो दाजु तपाइँ कहिले फर्कनु हुन्छ ?

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र २८, २०७४

धादिंग– गजुरी गाउँपालिका–२, धादिङका प्रवेश कँडेल २०६९ मंसिर १२ गतेदेखि मलेखुबाट हराउनु भएको छ ।

 

परिवार र भाइ सुजनले आफन्त र चिनजानका सबै ठाउँमा खोज–तलास गरे पनि प्रवेश अहिलेसम्म भेटिनुभएको छैन । प्रवेश कँडेललाई गाउँघरमा रामकृष्ण भनेर चिन्छन् । शिक्षण पेशा अंगाल्नु भएका कँडेल अध्ययन र पेशाका सिलसिलामा धादिङ, काठमाडौं र चितवन गरिरहनु हुन्थ्यो ।

विना जानकारी वेपत्ता हुनु भएका कँडेल सम्पर्कमा नआएपछि परिवार तथा गाउँघरमा खोजी भएको थियो । तर, अहिलेसम्म पनि उहाँ सम्पर्कमा नआउनुभएको परिवारले बताएका छन् ।

६ फिट उचाइ, कालो वर्णको ३० वर्षीय प्रवेश ६ वर्षदेखि हराउनु भएको हो । दाजु हराएपछि सामाजिक सञ्जाल फेसबुकमा सुजनले दाजुको फोटो हालेर साथीभाइलाई खोजीदिन आग्रह पनि गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ– ‘१२ वर्षमा खोला त फर्कन्छ भन्छन्, मेरो दाजु कहिले फर्कनुहुन्छ होला ?’

प्रवेशका भाइ सुजन दाजु हराएको दिनदेखि रातमा निद्रा र दिनमा भोकको महसुस नभएको बताउनुहन्छ । आमा कोसिलाकुमारी कँडेल २०५२ साल वैशाख ८ गते बित्नुभए लगत्तै करिब ६ महिनापछि  कात्तिक २८ गते बुवा प्रेमप्रसाद कँडेलको पनि मृत्यु भयो।

सानै उमेरमा जन्मदिने बुबा–आमा गुमाएका उनीहरु ठूलीआमा र बुबा मैना कँडेल र डाकुरनाथ कँडेलको काखमा हुर्किए । २ वर्षमै टुहुरिएको सुजनले आफू टुहुरो भएको १० वर्ष हुदाँ मात्र थाहा पाएको बताउनुहुन्छ ।

‘जनजागृति आधारभूत विद्यालयबाट कक्षा ५ पास गरेपछि श्री वागेश्वरी उच्च माध्यामिक विद्यालयमा कक्षा ६ मा भर्ना गर्न सर्टिफिकेट निकाल्दा आमाबुवाको नाम फरक देखेपछि मात्रै आफूलाइ जन्मदिने आमाबुवा गुमाएको थाहा पाएँ’, सुजन भन्नुहुन्छ, ‘पहिले तेरो आमाबुवा छैन भन्दा ढुङ्गाले हानेर धेरैलाइ चोट लगाइदिएको घटना मस्तिष्कमा अझै ताजा छ । सर्टिफिकेट हेरेपछि करेन्टको झट्का लागे जस्तै भयोे । साँच्चै जन्म दिने आमाबुवा त पहिले नै गुमाइसकेको रहेछु ।’

१० वर्ष हुँदासम्म आफ्ना बावुआमा अरु नै हुन भन्ने महसुस पनि भएको थिएन सुजनलाई । ‘सहारा दिने दाजु हुनुहुन्थ्यो, उहाँ पनि सम्पर्कविहीन हुनुभयो । माइला दाजु र दिदी विदेसिनु भएको लामो समय भयो तर फर्किनु भएन’, सुजन भन्नुहुन्छ, ‘म न यताको न उताको भएँ ।’

आमाबुवाको मृत्युपछि सुजन र प्रवेश दुवै दाजुभाइ माइलाबुवाकोमा बस्दै आएका हुन् । सानो छँदा ‘खाउ बावु खाउ’ भन्दा नमानेर लखेटीलखेटी खाना खुवाएको, सँगै खेलेको, सुतेको अनि हिँडडुल गर्न सिकाएका ती पलहरु सम्झँदा आज पनि सुजनको मन भक्कानिन्छ अनि गहभरी आँसु भरिन्छ ।

‘सानोमा दाजुलाई मैले कति दुःख दिएँ, सताएँ । त्यतिबेला दाजुको चाहना लत्याएँ होला । अहिले मसँग उहाँसँगैका धेरै सपनाहरु छन्’, मलिन स्वरमा सुजन भन्नुहुन्छ, ‘तर आज साथमा दाजु हुनुहुन्न । मेरो दाजु कहाँ हुनुहुन्छ होला ? खोजिदिनुहोस् न है !’

सानो छँदा दाजुलाई सताएको दुःख दिएको सम्झँदा सुजनलाई आज पछुतो महसुस भैरहेको छ । ‘दाजु भनेको आमा–बुवापछिको आमाबुवा हो’, सुजन भन्नुहुन्छ, ‘मेरो दाजुले भाइको गल्तीलाई माफी दिएर हाम्रो सुनौलो भविष्यका लागि घर फर्किएर अवस्य आउनुहुन्छ । दाजु म हजुरलाई भेट्न नपाएर अत्तालिएको छु । धेरै आत्तिएको छुँ दाजु । जिन्दगीभर तपाईंकै साथमा बसेर खुशीको सास फेर्ने मन छ । फर्केर आउनुहोस् न है ! यो भाइको बिन्ती छ दाजु ।’