प्रमुख प्रशासकीय अधिकृत नै ५ लाख घुस सहित पुलिसको फन्दामा

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदालिँदै सोमबार राति रंगेहात पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार साँझ ७ बजेर ४५ मिनेटमा काठमाडौं महानगरपालिका–३ को कार्यालय अगाडि सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारले अधिकारीका साथै नगरपालिकाका इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई समेत पक्राउ गरेको छ । दुवै जनालाई एकसाथ पक्राउ गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले बताए ।
अधिकारीले बूढानीलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिजर्व वायर (पानी ट्यांकी) निर्माण कार्य सम्पन्न गरेपश्चात् कार्य अनुभवपत्र लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेकी थिइन् ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले नै घुस मागेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
अख्तियारको टोलीले प्रमुख प्रशासकीय अधिकृत अधिकारीको बा१८च ७०७८ र इन्जिनियर श्रेष्ठको बा७च ५८९४ नम्बरको कारसहित पक्राउ गरेको हो ।अख्तियारले यसअघि पनि भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा दुईपटक बूढानीलकण्ठ नगरपालिकाका कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
सोमबार राति भने पहिलोपटक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नै पक्राउ परेका हुन् ।
उपसचिव लीला अधिकारी घुस लिँदालिँदै पक्राउ परेको हालको घटनाबाट सर्वसाधारण मानिसहरू आश्चर्यमा परेका छन् । महिला कर्मचारीहरू पनि घुस माग्न र खान माहिर हुन थालेको ठहर कतिपयले गरेका छन् ।
मिडिया डबली डबली नेटवर्क्स प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने साझा डबली हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा पढेर शेयर पनि गरिदिनु हुन आग्रह गर्दछौ।