चौधरीले गरे घोटाला, सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र १८, २०७४

काठमाडौँ– अन्ततः सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएको छ ।  गत हप्ता उच्च अदालत पाटनले सिजीले बीमा दाबीमा किर्ते गरेको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न बीमा समितिलाई निर्देशन दिएको छ ।

२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि  सर्भेयर र अण्डराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए । सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो । अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजिले किर्ते गरेको प्रमाणित भएको हो ।

सेयर होल्डरको लगानीमा संस्थापकले रजाई गरेको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक बीमा समितिलाई छानबिन गर्न आदेश दियो ।

अख्तियारको आदेश पालना गर्दै तीन सदस्यीय छानबीन टोली समेत गठन गरेर बीमा समितिले छानबिन गर्यो । समितिको छानबिनबाट पनि ३४ करोडको मात्र क्षति भएको देखिएको बीमा समितिका नियमन विभाग प्रमुख शाम्भराज लामिछानेले भने ।

तर, यहाँ रोचक पक्ष  के छ भने आफै बीमा दाबी गर्ने र आफै बीमा भुक्तानी गर्ने अर्थात बीमा दाबी गर्ने सिजि इम्पेक्स, इओए र सिजि इलेक्ट्रोनिक्स विनोद चौधरीले नेत्ृात्व गरेको चौधरी समूहको पूर्ण स्वामित्वको कम्पनी हो भने दाबी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स चौधरीको झण्डै २७ प्रतिशत सेयर स्वामित्व भएको कम्पनी हो ।

एकै घरानाका दुई कम्पनीबीच बीमा दाबी र भुक्तानी गर्दा उसले नेपाली सर्भेयर नै खटाएर गलत सर्वेक्षण गरेको भन्दै सर्वेक्षक र अण्डरराइटरलाई  ३/३ हजार जरिवाना  समेत गरेको लामिछानेले बताए ।

बीमा समितमै युनाइटेडको विरुद्धमा सिजीले उजुरी समेत हालेको थियो । सिजिले बढी दाबी लिएको प्रमाणित भएपछि अब २४ करोड रुपैयाँ युनाइटेड इनसुरेन्सलाई फिर्ता गर्नु पर्नेछ र अहिलेको बिमकको संस्थागत सुसासन सम्बन्धि निर्देशका २०७३ ले वित्तिय स्वार्थ गाँसिने ठाउँमा लगानी गर्न रोक लगाएको छ । यस आधारमा अब सिजिले युनाइटेडमा बीमा गर्न पाउँदैन ।