बंगलादेशबाटै बाहिरियो युएस बंगला विमान दुर्घटनाको नयाँ खुलासा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ३०, २०७४

काठमाडौं– बंगलादेशबाट नेपाल उडान भर्नुअघि विमानका पाइलटले राजीनामा दिएको बंगलादेशी मिडियाले खुलासा गरेको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त बनेको युएस बंगला विमानका पाइलट अविद सुल्तानले नेपालमा उडान भर्नअघि राजीनामा दिएको समाचार बंगादेशको एक अनलाइन मिडियाले खुलासा गरेको हो ।

बंगलादेशको प्रोथोमालो डटकमको अंग्रेजी संस्करणमा छापिएको उक्त समाचारमा सुल्तानका साथीहरुलाई उद्वृत गर्दै समाचार प्रकाशित गरिएको हो ।

‘नेपालमा उडान भर्न अघि इमेलबाट सुल्तानले युएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएका थिए,’ उद्धृत गर्दै समाचारमा भनिएको छ ।

विमान कम्पनीले भने उनको राजीनामा स्वीकृत गरेन । पाइलट अबिद सुल्तान र को–पाइलट पृथुला रसिद दुर्घटनामा मरेका ५१ जनामध्येका रहेका छन् ।

यता, युएस बंगलाका पब्लिक रिलेसन सेक्सनका प्रबन्ध निर्देशक कामरुल इस्लामले भने पाइलटले राजीनामा पत्र पठाएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘यद्यपि, पाइलटले प्लेन उडाउँदिन भने भन्न पाउँछन्,’ कामरुलले भने ।

पाइलट सुल्तानका साथीहरुका अनुसार युएस बंगला एयरलाइन्सका एक उच्च अधिकारीले दुई महिनाअघि कम्पनी छाडेर इथोपिएयन एयरलाइनसमा काम शुरु गरेका थिए । सुल्तानसँग नजिक रहेका उनले अबिदलाई त्यही एयरलाइन्समा जागिर मिलाएका थिए ।

सुल्तानका साथी रहेका अन्य पाइलटहरु राजीनामा दिइसकेको अवस्थामा पनि विमान उडान भर्न लगाउन नैतिकताविपरित भएको बताउँछन् ।

दुर्घटनाको कारणको बारेमा भने उनीहरुले यसबारे विस्तृत अनुसन्धान गरिनुपर्ने बताए ।

सुल्तानले सन् २०१५ को मे ६ मा पाइलटको रुपमा युएस बंगला कम्पनीमा आबद्ध भएका थिए । उनी ड्यास–एट क्यु४०० विमानका मुख्य पाइलट थिए । उनी विमानको प्रशिक्षक पनि थिए ।

 

उनले सन् १९८४ देखि बंगलादेशको वायुसेनामा पनि काम गरेर रिटायर भएका थिए ।