फरार रहेका दीपक मनाङ्गेलाई इन्टरपोलको सपोर्ट !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौं– प्रहरीको फरार सूचीमा रहेका प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई रेडकर्नर नोटिसमा राख्न इन्टरपोलले अस्वीकार गरेको छ ।

मनाङबाट एमालेको समर्थनमा प्रदेशसभामा निर्वाचित मनाङ्गे देशबाहिर रहेको जानकारी पाएपछि प्रहरीको अपराध अनुसन्धान विभागले उनको नाममा इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाएको थियो ।

मनाङ्गे राजनीतिक व्यक्ति भन्ने जानकारी पाएपछि इन्टरपोलले उनको नाममा रेड कर्नर नोटिस जारी गर्न अस्वीकार गरेको हो । इन्टरपोलले राजनीतिक व्यक्तिहरूका नाममा रेडकर्नर नोटिस जारी गर्न नमिल्ने नेपाल प्रहरीलाई जनाउ दिएको छ ।

आफ्नो नाममा रेडकर्नर नोटिस जारी गर्न नेपाल प्रहरीले पत्र पठाउन लागेको थाहा पाएपछि मनाङ्गेले इन्टरपोल मुख्यालयमा आफू निर्वाचित राजनीतिज्ञ भएको जानकारी गराएका थिए । प्रहरीभित्रैबाट सूचना चुहाइएकाले मनाङ्गेले इन्टरपोल मुख्यालयलमा उजुरी गर्न पाएको स्रोतले बतायो ।

२०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समूहले चक्रे मिलनको हात छिनाएको थियो ।

सोही घटनामा संलग्न अभियुक्तहरू रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएको थियो । तर, सर्वोच्चले मनाङ्गेलाई पुनरावेदनले सुनाएको ५ वर्षको कैद सजाय सुनाएको थियो ।

गत मंसिरमा भएको प्रदेश सभा चुनावमा मनाङ्गे मनाङ (ख) बाट स्वतन्त्र रूपमा उम्मेदवार बनेका थिए । एमालेको समर्थनमा उनी निर्वाचित भएका छन् तर प्रहरीको फरार सूचीमा रहेकाले उनले सपथ लिन पाएका छैनन् ।