राधालाई मुड्की र लात्तीले हानुन्जेल त्यो मेरो काम हैन भनेका मेयरले कुट्ने भोलेबाबालाइ चै छुटाए !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, फाल्गुन २६, २०७४

कैलाली- बिहीबार देशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाए ।

तर, कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा परिन् । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहे ।

पीडित राधा चौधरी सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोषाधमा छिन् । चिकित्सकका अनुसार उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ । तर, कुटपिटमा संलग्नहरुलाई स्थानीय जनप्रतिनिधिले नै रातारात छुटाएर लगेका छन् ।

यसरी कुटिइन् राधा

बिहीबार विहान राधा आफ्नो घरको आगन सफा गर्दै थिइन् । ५/७ जनाको समूह आयो र जबरजस्ती भोले बाबा (रामबहादुर चौधरी) भएको ठाउँमा पुर्‍याए ।

रामबहादुरले ‘तँ बोक्सी भन्दै राधामाथि जाइलागे । त्यसपछि उनी लगातार कुटिइन् । अस्पतालको शैयामा छपटाइरहेकी उनले भनिन्, बोक्सी झार्छु भन्दै बाबाले कुट्न थाले ।’

उनले आफू बोक्सी नभएको भन्दै रोइकराई गरिन् । तर, न त बाबाले सुने न गाउँलेले रोके । विरामी भनिएकी पार्वती चौधरी पनि बाबासँगै राधामाथि जाइलागिन् ।

पार्वती कहिले राधाको कपाल लुच्छिन् त कहिले उनीमाथि मुड्की र लात्ति बर्साउँछिन् ।

राधा आफ्नो बचाउ गर्न सक्दिँनन् । बाबा भनिने रामबहादुर पनि उनीमाथि मुड्की बर्जाछन् । राधा भुतुक्क हुन्छे । नागको शैली नक्कल गर्दै बाबा भन्छन्, ‘बोल तो कोन हे ?’

लगातारको कुटाइले आत्तिएकी राधा भन्छे, बस्नुस्, बाबा बस्नुस्, म भन्छु ।’ तर, निर्दयी बाबा फेरि उनको ढाडमा मुड्की बर्जाछन् । राधा हुरुक्क हुन्छे ।

बाबा र पार्वतीले लगातार राधामाथि कुटपिट गर्छन् । कहिले लछाप पछार गर्छन् त कहिले मुड्की बर्जाछन् ।

आफूलाई बाबा बताउने रामबहादुर उनलाई ‘बोक्सी’ प्रमाणित गर्न अनेक प्रयास गर्छन् । सोध्छन्, त को होस् ?

राधा आफूलाई अबोध बालक भएको स्पष्टिकरण दिन्छन् । तर, उनीमाथि लगातार कुटपिट भइरहन्छन् । २० वर्षकी युवतीमाथि यसरी निर्घात कुटपिट भइरहँदा सिंगो गाउँले रमिते बनेर बस्छन्, एक शब्द पनि बोल्ने आँट गर्दैनन् ।

‘म बोक्सी होइन, मलाई नकुट्नुस् भन्दा त्यहाँ रमिता हेरेर बस्नेहरुका अगाडि मेरो शरीरको सम्बेदनशील अंग लगायत शरीरका अन्य भागमा निर्घाट प्रहार भैरहृयो राधाले रुँदै भनिना्, ‘मलाई नकुट भन्ने त्यहाँ कोही भएन ।’

घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर राधाको उद्दार गरेको थियो भने विरामी भनिएकी पार्वतीलाई उपचारका लागि अस्पतालतर्फ पठाएको थियो ।

जनप्रतिधिले नै छुटाए भोलेबाबालाई

घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले भोले बाबा उर्फ रामबहादुरलाई पक्राउ गर्‍यो । तर, रामबहादुरलाई छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुग्यो । प्रहरीले पनि राबहादुरलाई छोडिदिएको छ ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा रामबहादुरलाई छोडिदिएको इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्टले जानकारी दिए ।

कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुली व्यापार गर्ने रामबहादुर आफूलाई दैवीशक्ति प्राप्त भएको भन्दै गाउँमै झारफुक गर्ने गरेका छन् ।

घटना सार्वजनिक भएपछि चर्को विरोध भएको छ र रामबहादुर पक्राउ परेका छन् । उनीविरुद्ध पीडित युवतीका बाबुले जाहेरी दिएपछि उनी शुक्रबार पक्राउ परेको छ ।

उनीविरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाइएको छ ।

यो घटना लगत्तै मेयरसंगको सबाद

प्रश्नः मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?

जवाफः किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

प्रश्नः जाहेरी कसले दिएको हो ?
जवाफः पीडित पक्षले ।

प्रश्नः जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?
जवाफः हिजो नै भयो ।

प्रश्नः कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?
जवाफः हो, म एकैछिन पुगेको थिएँ ।

प्रश्नः कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?
जवाफः अहँ, किन लिनु र ?

प्रश्नः होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?
जवाफः मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

प्रश्नः त्यसो भए किन जानुभएको त चौकीमा ?
जवाफः बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

प्रश्नः ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?
जवाफः हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

प्रश्नः साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?
जवाफः हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

प्रश्नः ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?
जवाफः काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

प्रश्नः त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?
जवाफः हो, भर्खर ४० वर्षको भएँ ।

प्रश्नः युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?
जवाफः त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

प्रश्नः ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?
जवाफः जानकारी भएन ।

प्रश्नः आफ्ना नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?
जवाफः मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

प्रश्नः जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?
जवाफः त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

प्रश्नः गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँ–टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?
जवाफः मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

प्रश्नः देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?
जवाफः तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस्

तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू
भन्नोस् ।
प्रश्नः नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदो रहेछ ?
जवाफः त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।
नयाँ पत्रिकाबाटः