दरबारमार्ग बलात्कार काण्ड : घटनाले लियो नयाँ मोड, युवतीले दिइन् यस्तो बयान

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ १८, २०७४

काठमाडौँ

काठमाडौँको ल्याण्डमार्क होटलमा भएको भनिएको बलात्कारको घटनाले नयाँ मोड लिएको छ ।

सामूहिक बलात्कारमा परेको भन्दै प्रहरीमा मौखिक जाहेरी दिएकी युवतीले बुधबार साँझ एकाएक बयान फेरेकी हुन् । प्रहरीले खोजी गरेपछि बुधबार साँझ काठमाडौँ परिसरमा उपस्थित भएकी उनले आफू सामूहिक बलात्कारमा नपरेको बताएकी हुन् ।

प्रहरी स्रोतका अनुसार, प्रहरीको छानबिन समितिसँगको छलफलमा युवतीले आफू र रामेछापका कार्की थरका एक युवकबीच सहमतिमै शारिरीक सम्पर्क भएको बयान दिइन् ।

गत माघ १० गते ल्याण्डमार्क होटलमा बास बसेकी युवतीले त्यसको भोलिपल्ट चार जना युवकले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीको कमलपोखरी र दरबारमार्ग वृत्तमा मौखिक जाहेरी दिएकी थिइन् । ३० लाख रुपैँया भन्दा बढी लिएर दरबारमार्ग प्रहरीले मिलापत्र बनाएको विषयले प्रहरीभित्र सनसनी मच्चिएको थियो । आर्थिक लेनदेन भएको आशंकामा काठमाडौँ प्रहरीले एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

घटनापछि दरबारमार्गका डिएसपी तिलक भारतीलाई काठमाडौँ प्रहरी परिसरमा तानिएको छ भने दरबारमार्गका मुद्दा अधिकृतका रुपमा कार्यरत इन्स्पेक्टर लक्ष्मण ठकुरीलाई थुनामा राखिएको छ ।

घटनाको अनुसन्धान गरिरहेका काठमाडौंका एसपी जोशीले युवतीसँग बयान लिएर अनुसन्धान भइरहेको बताएका छन् । पीडित भन्दै प्रहरीको शरणमा आएकी युवतीले नै बयान फेरेपछि छानबिन समितिलाई थप समस्या परेको छ । आर्थिक चलखेल भएकै कारण उनले बयान फेरेको हुनसक्ने प्रहरी अनुमान छ ।