राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई किन दिइन बधाई? ओली र प्रचण्डकै अगाडि यसरी गरिन प्रशंसा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, पुस ५, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा ÷प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारलाई बधाई दिनुभएको छ । साथै उहाँले राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई भन्नुभयो ।

वाम गठबन्धनमा आवद्ध दुई दल एमाले र माओवादी केन्द्रका शीर्ष नेतृत्वसित आज राष्ट्रपति कार्यालय शीतलनिवासमा भेट गर्दै उहाँले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई दिनुभएको जानकारीअनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले जनताको आर्थिक एवं सामाजिक उन्नतिका लागि सहमतिका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

“लोकतन्त्रको मूल्य, मान्यता र परम्परालाई राजनीतिक दलहरुले राम्रोसित बुझ्नु भएको छ । सहमति, सहकार्य र एकताका आधारमा देशमा आर्थिक समृद्धि हासिल हुनेछ” राष्ट्रपति भण्डारीले भन्नुभयो ।

राष्ट्रपति भण्डारीसँगको भेटमा पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारी र उहाँहरुका वीचमा राष्ट्रियसभाको निर्वाचनसम्बन्धी आवश्यक ऐनका विषयमा समेत कुराकानी भएको बताइएको छ ।

भेटपछि माओवादी केन्द्रका नेता श्रेष्ठले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा बधाई दिनुभएको जानकारी दिनुभयो ।

उहाँले अगामी दिनमा राजनीतिक दलहरुले सहमति, सहकार्य र एकता गरी अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।