मन्त्रिपरिषद् बैठकका निर्णयः अनसनरत केसीसँग वार्ता गर्ने

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

आइतबारको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले स्थानीय, प्रदेश र सङ्घीय कानुन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्की अनुसार सरकारले सहसचिव कृष्णप्रसाद देवकोटालाई सचिवमा र रवीन्द्र पण्डितलाई अनुसन्धान निर्देशकमा बढुवा गरेको छ ।

सँगै सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त पाँच अर्ब ८८ करोड र विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त १३ अर्ब स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले रुपाताल संरक्षण एकीकृत विकास परियोजना र बृहत् दाङ उपत्यका तथा माडी–लुङ्ग्री करिडोर सिँचाइ योजना सञ्चालन गर्ने निर्णय गरेको छ भने जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आजको बैठकले जापान सरकारबाट नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि प्राप्त १७ अर्ब ऋण सहायता समेत स्वीकृत गरेको छ ।

अनसनरत केसीसँग वार्ता गर्ने
मन्त्रिपरिषद्को बैठकले अनशनरत प्रा डा गोवन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै बैठकमा संविधान संशोधनको प्रस्ताव पारित गर्ने भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण त्यस बारेमा छलफल हुन सकने् । संविधान संशोधनका विषयमा छलफल हुन नसक्दा संशोधन प्रस्ताव सोमबार मात्र दर्ता हुने भएको छ ।