पाँच वर्षपछि मोडल अञ्जुको कम्ब्याक

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ ३, २०७५

काठमाडौं – मोडल अञ्जु निरौलाले मोडलिङ क्षेत्रमा फेरि कम्ब्याक गरेकी छिन् । चार पाँच वर्षको ग्यापपछि मोडल निरौला मोडलिङको दुनियाँमा प्रवेश गरेकी हुन् ।

निरौलाको कम्ब्याक भिडियो खेम सेञ्चुरीको ‘बेली चमेली’ बोलका गीत रहेको छ । उनीले म्युजिक भिडियोका साथै टेलिफिल्महरु पनि खेल्न थालेकी छिन् । जनता डिजिटल फिल्मस् प्रालिले निर्माण गरेको ‘जय पराजय’मा मोडल निरौलाले लिड रोल गरेकी छिन् ।

२०६२ सालतिर म्युजिक भिडियोहरुमा एकछत्र राज गरेकी निरौलाले व्यक्तिगत कारण चार पाँच वर्ष मोडलिङबाट पलायन भएकी थिइन् । त्यस बेला निरौलाले अभिनय गरेको अधिकांश म्युजिक भिडियोहरु सफल भएका थिए । म्युजिक भिडियोमा निरौलालाई खेलाउन निर्माता र निर्देशकहरु कुरेर बस्थे । उनको लोकप्रियता यति थियो कि निरौला आफै पनि अचम्मित छिन् ।

चार पाँच वर्षको दौरानमा निरौलाले विवाह गरेर बच्चा पनि जन्माउन भ्याएकी छिन् । भन्छिन्, ‘आफ्नै व्यक्तिगत कारणले चार पाँच वर्ष म म्युजिक भिडियोबाट गायब भएँ । बीचमा पसल पनि गरेकी थिएँ । विवाह पनि भयो । बच्चा जन्मियो ।’

पतिको सहयोगका कारण फेरि म्युजिक भिडियो र टेलिफिल्महरुमा निरौलाले अभियन थालेकी हुन् । औपचारिक रुपमा अभिनय र नृत्यको कक्षा कतै लिएकी छैनन् । तर, निरौलालाई अभिनय र नृत्य गर्न एक पटक निर्देशकले सिकायो भने पहिलो टेकमा ओकी हुन्छिन् । भन्छिन्, ‘अहिलेसम्म मेरो कामबाट सबैजना खुसी हुनुहुन्छ । भविष्यमा के हुन्छ थाहा छैन ।’

निरौलाको पुरानो घर वीरगञ्ज हो । अहिले उनी काठमाडौं निवासी भएकी छिन् । मोडलिङ सुरुवात गर्दा निरौलाले ०६२ सालमा ‘सुनको चुरा ल्याइदिउँला साइँली’मा अभिनय गरेको अहिले पनि स्मरण गर्छिन् । भन्छिन्, ‘पहिलो म्युजिक भिडियो गरेपछि सबैले म्युजिक भिडियोहरुमा अफर गर्नुभयो खेल्दै गएँ । पन्ध्र वर्षको दौरानमा दुई हजारभन्दा बढी म्युजिक भिडियो खेलेको छु ।’

मोडल निरौलाले ठूला फिल्म पनि खेलेकी रहिछिन् । उनले हिरोइन भएर लेखेको फिल्म ‘नसीव आफ्नो आफ्नो’ र ‘हाम्री चेली’ रहेछ । तर, ती फिल्मबाट उनलाई म्युजिक भिडियोहरुले जस्तो पहिचान दिन सकेन ।

तपाईको म्युजिक भिडियो यात्रा कसरी सुरुवात भएको हो ? भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘मेरो आमाको साथीले म्युजिक भिडियो खेल्ने हो भनेर सोध्नु भयो । मैले हुन्छ भने । त्यसपछि लगातार मोडलिङ गरियो ।’

निरौलाद्धारा अभिनय गरिएको ‘बेली चमेली’ नामक टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । अहिले पनि सुरुवाती दिनकै जोश र जाँगर बोकेर मोडलिङमा कम्ब्याक गरेकी निरौलाको सुन्दरतामा कुनै कमी छैन । अहिले पनि तपाइँको सुन्दरता सुरुवाती दिनकै जस्तो छ नि भने सोधिएको जिज्ञसामा उनले भनिन्, ‘त्यस्तो केही लाग्नै मलाई । यस्तै हो ।’

निर्वाचनका बेला मतदान गर्न पुगेकी उनी राजनीतिक दलप्रति भने खासै रुचि राख्दिनन् । भन्छिन्, ‘राजनीति दलमा मेरो रुचि छैन । भोट भने व्यक्ति हेरेर गोप्य मतदान गरेकी हुँ ।’

म्युजिक भिडियो कलाकार संघ नेपालको संस्थापक अध्यक्ष समेत रहेकी निरौलाले कलाकारहरुको हकहितका लागि भने आफू सधैँ सचेत रहने बताउँछिन् । निरौला संस्थापक अध्यक्ष रहेको संस्थाको अध्यक्ष अहिले भने शंकर विसी रहेछन् ।

मोडलिङ गर्ने बेला कुनै पनि युवकले आफूलाई प्रेम प्रस्ताव नराखेको उनले बताइन् । ग्ल्यामर्सको क्षेत्रमा युवतीलाई युवाहरुले प्रेम प्रस्ताव राख्छन् । तपाईलाई कति जानाले प्रेम प्रस्ताव राखे भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई कसैले पनि प्रस्ताव राखेनन् ।

म नभएका बेला कसैसँग केही कुरा भनेको भए अर्कै कुरा हो । म इमान्दार साथ तपाइँलाई भन्छु कसैले पनि प्रेम प्रस्ताव राखेनन् । म पनि अचम्ममा परेकी छु ।’

अहिले तपाईलाई कसैले प्रेम प्रस्ताव वा बिहेको कुरा ग¥यो भने के गर्नु हुन्छ भन्ने प्रश्नमा निरौलाले भनिन्, ‘छोरा बनाएर एडप गर्छु भन्छु । म विवाहित भैसकेकाले त्यसतर्फ कसैले ध्यान दिनेछैनन् ।’

सबै खालका गीत रुचाउने निरौलाले आगामी दिनमा कलाक्षेत्रलाई व्यवस्थित बनाउन आफूबाट हुने सबै सहयोग रहने बताउँछिन् । ‘अहिले आएका नयाँ पुस्ताका केही कलाकारहरुमा भित्रैबाट अभिनय गरौँ भन्ने इच्छा देखिँदैन’, उनले भनिन्, ‘हामीले त्यस बेला मेहनत गर्नु पथ्र्यो ।

म्युजिक भिडियो पनि राम्रो हुन्थ्यो । अहिले त आफै लगानी गरेर आफै खेलेको देखिन्छ ।’ उनले म्युजिक भिडियो र गीतहरुमा देखिएको विकृतिलाई सस्त सुस्त सुधार गर्नुपर्ने बताउँछिन् । जनता डिजिटल एण्ड फिल्मले निर्माण गर्न लागेको ‘जय पराजय’ नामाक टेलिफिल्मको कार्यमा उनि अहिले ब्यस्थ छिन ।