नेपाल चिकित्सक संघ आन्दोलित : सरकार पेलेर जाने मुडमा

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, साउन ३, २०७५

काठमाडौं –  सरकारले प्राडा गोविन्द केसीका मागहरु पूरा गर्न र केसीको जीवनरक्षा गर्न दबाब दिन नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।संघको आव्हानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द भएका छन् ।

 

संघले एक दिने सेवा ठप्प पारेको हो । तर सरकारले यसरी ठप्प पार्दा समेत वास्ता नगर्ने हो भने अनिश्चितकालीन बन्द गर्न तयार हुने चेतावनी सरकारलाई दिएको छ ।कानुन मन्त्री शेरबहादुर तामाङले बिरामीलाई अस्पतालमा छाडेर कुनै पनि चिकित्सक आन्दोलनमा नजाने दावी गरेका छन् । उनले विरामी छाडेर कोही पनि डाक्टर बाहिर ननिस्कने भन्दै चिकित्सकलाई सचेत पारेका छन् ।

 

 

यसअघि नै सरकारका विभिन्न मन्त्रीहरुले विरामीको उपचार गर्न छाडेर आन्दोलनमा होमिने चिकित्सकलाई जागिरबाट हटाउने समेत भनिसकेका छन् ।नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा ढुंडिराज पौडेलले जागिरको माया नभएको भन्दै सरकारलाई कार्वाही गरेर देखाउन चेतावनी दिएका छन् ।

 

विभिन्न मन्त्रीहरुले आन्दोलनमा होमिने डाक्टरलाई सेवाबाट हटाउने चेतावनी दिँदै डा गोविन्द केसीको आमरण अनसनलाई शिथिल बनाउने प्रयास थालेपछि डा पौडेलले सरकारको हिम्मत भए कार्वाही गरेर देखाउन चुनौती दिएका हुन् ।‘चिकित्सकहरुले नाजायज माग नराखेको र डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दा समेत सरकारले कार्वाही गर्न खोज्छ भने जागिर खोसेर देखाओस्’, डा पौडलले भने ।